अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

नेपालमा फैलिएको कोभिड–१९ भाइरसको आनुवंशिक संरचनाको अनुसन्धान सम्पन्न, चीनको भाईरस भन्दा फरक

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:१६ मा प्रकाशित

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् ।गत असारमा थालिएको भाइरसको आनुवंशिक संरचनाको अध्ययनबाट चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको भन्दा सार्स–कोभिडको भाइरस फरक प्रकृतिको देखिएको तथ्य पत्ता लागेको हो ।

यो अध्ययनले नेपालले ल्याउने खोपको प्रभावकारिता र संक्रमणको फैलावटबारे जानकारी पाउन सहयोग गर्नेछ । कोभिड–१९ भाइरसको आनुवंशिक पहिचान पत्ता लगाउन, यसको प्रकृतिमा आएको परिवर्तन तथा नेपालले ल्याउने खोपको प्रभावकारिता हेर्न गत असार १२ देखि साउन २६ सम्म स्वास्थ्य अनुसन्धान परिषद्ले देशभरिबाट १५ ओटा नमुना संकलन गरी भाइरसको आनुवंशिक अध्ययन थालेको थियो ।

सो अध्ययनले चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको भन्दा सार्स–कोभिडको भाइरस फरक प्रकृतिको रहेको देखाएको छ । विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् ।

परिषद्ले औपचारिकरुपमा अध्ययनको रिपोर्ट सार्वजनिक नगरेपनि यही साताभित्रै सार्वजनिक गर्ने तयारी थालेको छ । परिषद्का सदस्यसचिव तथा कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले आनुवंशिक संरचनाको अध्ययनबाट विभिन्न देशले बनाइरहेका कोभिडविरुद्धका खोपहरु नेपालमा कत्तिको प्रभावकारी हुन्छन् भनेर निक्र्योल गर्न तथा रोग कसरी फैलिएको छ भनी बुझ्न सहयोगी बनेको बताउनुहुन्छ ।

परिषद्काअनुसार जनस्वास्थ्य प्रयोगशाला टेकु, प्राइभेट अस्पताल, काठमाडौं विश्वविद्यालयलगायत फरक ठाउँ, उमेर समूह तथा स्थलगत र जहाजमार्फत् नेपाल भित्रिएका व्यक्तिबाट स्वाबको नमुना संकलन गरिएको थियो । सदस्यसचिव डा. ज्ञवाली अहिले गरिएको अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

नेपालमा पहिलोपटक गरिएको आनुवंशिक संरचनाको अध्ययन सफल भएको परिषद्को दाबी छ । अध्ययनलाई सरकारले निरन्तरता दिए कोरोनाविरुद्धको लडाइँमा सफलता मिल्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू