अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

सन् २०२२ मा नेपालमा पर्यटनको गति दौडने छः पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५४ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटन उद्योग दौडने विश्वास व्यक्त गर्नुभएको छ ।कोरोनाले थलिएको पर्यटन उद्योग विस्तारे खुल्न थालेको भन्दै उहाँले सन् २०२१ को मध्यसम्ममा हिड्न थाल्ने र २०२२ मा दौडको गति पक्रने उहाँले बताउनुभयो । चितवनको रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ रिसोर्टको शिलन्यास गर्नुहुँदै उहाँले विगत वर्षभन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने भन्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’सन् २०२१ भरी स्वदेशी पर्यटक परिचालनको नीति सरकारले लिने भन्दै उहाँले अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटकको चहलपहल शुरु भइसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना संक्रमणका कारण श्रमबजार तहसनहस भएकाले देशभित्रै सम्भावनाहरु खोज्नु परेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था छ ।’ विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

देशभित्र रोजगारी सृजना गर्न नसक्दा वर्षेनी रोजगारीका लागि विदेश गएका ६ सयभन्दा बढी युवाको शव आउने गरेको तीतो यथार्थ सहनु परेको उहाँले उल्लेख गर्नुभयो ।एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईलगायतले नयाँ खोल्ने रिसोर्ट रोजगारी सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले करिब २५ करोडको लगानीमा द फरेष्ट फ्रन्ट निर्माण गर्न लागिएको जानकारी दिँदै रिसोर्टको ३४ कोठामा ६५ बेड हुने र यो सन् २०२२ बाट सञ्चालनमा ल्याइने बताउनुभयो । १२ कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्टमा अत्याधुनिक सबै सेवा रहने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया