अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

जीवन विज्ञान प्रतिष्ठानको दोस्रो केन्द्रीय कार्यालय अमेरिकामा स्थापना

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ८:४५ मा प्रकाशित

जीवन विज्ञान प्रतिष्ठान नेपालले यसको दोस्रो केन्द्रीय कार्यालय अमेरिकामा स्थापना गरेको छ । जीवन विज्ञानका संस्थापकद्वय श्रद्धेय सद्गुरुवर रमेश नेपाल तथा एल पी भानु शर्माले काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट ब्यानर अनावरण गरी यही नोभेम्बर २६ मा जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाको समुद्घाटन गर्नुभयो । श्रद्धेय सद्गुरुवर रमेश नेपालको प्रकाश दिवस मनाउने अवसरका साथ हरिबोधिनी एकादशी र अमेरिकी जनजीवनमा धन्यवाद दिने दिन अर्थात् थ्याङ्कस गिभिङ डेको अवसर समेत रहेको समारोहमा काठमाडौँमा जुमबाट ब्यानर अनावरण भएपछि अमेरिकामा समिति सदस्य कमला खरेल र मिना पन्थीले पानसमा दीप प्रज्वलन तथा ब्यानर अनावरण गर्नुभयो ।

समारोहमा श्रद्धेय सद्गुरुवर रमेश नेपालको प्रकाश दिवसका अवसरमा वहाँलाई पुष्पहार अर्पण गरी वहाँको चिरायुके शुभकामना व्यक्त गरियो । सो समुद्घाटन समारोहमा जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालयको नवगठित समितिका सदस्य मधु पन्थीले जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाले जीवन विज्ञानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न लिएका लक्ष्य, दृष्टिकोण र उद्देश्यबारे प्रकाश पार्नुभयो ।

सदस्य परशुराम भण्डारीले स्वागत मन्तव्य दिनुभएको समारोहमा नेपालबाट रञ्जु गौतम घिमिरेले स्वस्तिवाचन तथा गुरुवन्दना, केन्टकीबाट सरु गुरागाइ र मुरारी गुरागाईले गुरुवन्दना र भजन प्रस्तुत गर्नुभयो । मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट ह्यारी भण्डारी,  टाउन अफ हर्नडनका काउन्सिल म्यान प्रदीप ढकालले शुभकामना मन्तव्य दिनुभयो ।

अमेरिकाका विभिन्न स्थानमा जुमका मध्यमबाट भएका स्वसंवाद साधना सत्रका सहभागीहरूमध्ये क्यालिफोर्निया जीवन योग प्रयोगशालाकी सहभागी अमिता थापा,  टेक्सस स्वसंवाद सत्रमा सहभागी डा परशुराम दाहाल,  ग्लोबल भुटनिज हिन्दु अर्गनाइजेसनका अध्यक्ष कमल धिमाल,  भर्जिनिया स्वसंवाद तेस्रो समूहबाट दीक्षित बद्री खनाल, भर्जिनियाबाट दिव्य संवाद सत्रबाट दीक्षित तनुजा पोख्रेल अधिकारी हुनुहुन्थ्यो । नवगठित समितिका अध्यक्ष शिव लामिछानेबाट धन्यवाद ज्ञापनसहित समारोह विसर्जनको जानकारी गराइयो । समारोहको सञ्चालन समिति सदस्य कल्पना सत्यालले गर्नुभएको थियो ।

 

उद्घाटन प्रत्यक्ष प्रसारणको भिडियो:
https://www.facebook.com/brtnepaldotcom/videos/297772211483028/?v=297772211483028

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू