अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन आधारहीन रहेको भन्दै नेपाल सरकारद्धारा खारेज

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:०३ मा प्रकाशित

नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको भन्दै यसलाई खारेज गरिएको बताएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता संचार मन्त्री पार्वत गुरुङले जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बद्नाम गरिएको बताउनुभयो ।

विश्व सूचकांकमा नेपालको प्रगति राम्रो छ भनिरहेको अवस्था र मुलुकमा ३ करोड जनता रहेकोमा एक हजार जनामा फोनबाट गरिउको सर्वेक्षण निकै कम रहेकोले यस्तो प्रतिवेदन खारेज गरिएको मन्त्री गुरुङ्गले स्पष्ट पार्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका ब्यक्तिहरू राजनीतिक भएकोले पनि उक्त प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट र सरकारविरुद्धमा मिसनको रुपमा प्रतिवेदन तयार पारेर सरकारप्रति वितृष्णा जगाउने काम भएको उहाको आरोप थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङ्गले केही प्रतिक्रियावादीले सरकारविरुद्ध अभियान चलाएको पनि बताउनुभयो । जनतामा निराशा र भ्रम छर्ने र जनतालाई भड्काउने प्रयास भइरहेको भन्दै उहाँले त्यस्ता कार्यमा संलग्न नहुन सरकारले अपिल गरेको पनि उल्लेख गर्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकोले उक्त प्रतिवेदनलाई खारेज गरिएको उहाको स्पष्टोक्ति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू