अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत ३३ वर्षका नेपाली डाक्टरको निधन

बिआरटीनेपाल २०७७ मंसिर १२ गते २१:१९ मा प्रकाशित

अमेरिकाको न्यु योर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका डाक्टर झाको निधनपछि परिवार शोकमा डुबेको छ । बिहान समेत बिरामीको चेक गरेका उनको दिउसो अचानक हृदयाघातबाट निधन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन्।

काठमाडौँको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रूपमा काम सुरु गरेका थिए । उनको केहीबर्ष अगाडि मात्र नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस र एमडी गरेका उनले केही समय काठमाडौँको अलका अस्पतालमा समेत काम गरेका थिए । उनको रेजिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

पुर्ख्यौली घर धनुषाको देवपुरा रुपेठा रहेका रवीन्द्र झा र कविता झाका छोरा डाक्टर रोशन झा काठमाडौँमा नै हुर्केका थिए ।

रोशनकी पत्नी श्वेता ठाकुरले पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डेन्टल सर्जरीमा ब्याचलर गरेकी हुन् । हाल उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनकी विद्यार्थी हुन् ।

झाको परिवारको सहयोगका लागि गोफण्डमीमा १ लाख ६५ हजार ८५५ डलर डलर सङ्कलन भइसकेको छ । उनले ऋणधन गरेर पढेका र परिवारमा ३ लाख डलर ऋण भएकाले सहयोगका लागि रकम सङ्कलन अभियान चलाइएको हो । कार्डियोलोजीमा आफ्नो करिअर खोजिरहेका उनले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर बिरामीहरूको सेवा गरेका थिए ।

उनको निधनप्रति मधेसी एसोसिएसन इन अमेरिकाले शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । संस्थाका महासचिव सङ्गीत रौनियाले वक्तव्य जारी गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् ।

उनको परिवारलाई नजिकबाट चिन्ने डाक्टर जेपी शाहले खसोखाससँग भने – ‘उनको निधनबाट हामीहरू निकै स्तब्ध भएका छौँ । यो दुखद घडीमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छौँ।’ :   खसोखासबाट

श्रीमति श्वेता ठाकुरका साथमा रोशन झा

प्रतिक्रिया