अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 07:04

मृत्यु अझै मरेन

गोपीनाथ मैनाली २०७७ मंसिर १२ गते ८:४९ मा प्रकाशित

सबैले बुझेको कसैले पनि अनुभूति नगरेको रहस्य हो मृत्यु । मृत्यु अन्तिम सत्य हो, तर पनि मृत्युमा यति ठुलो रहस्य किन ? किन दर्शन र शास्त्रहरू मृत्युबारे भ्रम फैलाई रहेका छन् ? किन विज्ञान मृत्यु जित्न र बताउन सकिरहेको छैन ? ईश्वरीय शक्ति जितिसकेको मानव सामर्थ्य किन मृत्युलाई जित्न त परै जावस, यसबाट सुइँकुच्चा ठोकेर भागिरहेको छ ? धेरै असम्भवहरू सम्भव हुँदा मृत्यु चाहिँ किन लगातार जीवनलाई जितिरहेको छ ?

मृत्यु के हो र किन हुन्छ भन्ने अनुत्तरित प्रश्नले सर्वश्रेष्ठ प्राणी मानिस पिरोलिएको छ । यो अनुत्तरले सर्वश्रेष्ठ हुनुप्रति व्यङ्ग्य गरिरहेको छ । भनिँदै आएको छ मृत्यु अन्तिम सत्य हो र जो कुनैलाई मृत्यु वरणको विकल्प छैन । अन्तिम सत्य हो भने मृत्यु किन असामयिक हुन्छ ? मृत्युको खास समय चाहिँ कुन हो र सबै मृत्युलाई किन असामयिक भनिएको छ ?

सत्यको समय, क्रम, उपक्रम हुन्छ । सत्य अनुमान गर्न सकिन्छ । सत्यलाई कल्पनाको मजेरी र रहस्यको अँधेरो ओडारमा छाड्नु हुन्छ र ? यस जगतका धेरै कुराका क्रम–उपक्रम, तिथि मिति, अनुमान अनि तथ्य छन् । सत्य स्वयम् तथ्य हो । उसो भए यो सत्यको उद्घाटन किन भएन ? के सत्यको उद्घाटन गरिरहनु पर्ने हो ? सत्य स्वयम् उद्घाटित किन भएन ? सत्य त आफै प्रस्टिनु पर्छ । नदी, ताल, हिमाल, पहाड, सफलता, असफलता, कर्म–प्रतिफल, दिन–रात, नदी–किनारा, दुखसुख, घटना परिघटना आदि सबैको साँगोपाङ्गो, क्रम उपक्रम, तथ्य र जानकारी छ । तर सबैभन्दा ठुलो सत्य हामीलाई अलमल्याई रहेछ, खेलाई रहेछ, र अनायास आफूमा समाहित गरिरहेको छ । जीवनको अस्तित्व विच्छेद गरिरहेको छ, अथाहमा, अनाहकमा मृत्यु शाश्वत सत्य हो भने सबैको जीवनलाई किन न्यूनाङ्कित गरिरहेको छ ? मानव सत्ता, समस्त जीवसत्तलाई किन निरीह बनाइ रहेको छ ? मृत्यु विरुद्धको साझा सङ्घर्ष किन हुन सकेन ? एउटा मृत्यु समस्त जीवलाई निरीह बनाउँदै, लखेट्दै, पछाद, लतार्र्दैै हिँडिरहेको छ । पराजयको भयले   युद्ध मोर्चामा सामेल हुने वीरता पनि यस सर्वश्रेष्ठ जातिले प्रस्तुत गरेन ।

अर्वौअर्व जीवजगतलाई सखाप पार्न सक्ने मृत्यु कतिवटा छ ? सँगै मेलापात गएको साथी भोलि भेटिँदैन । केहीअघि सँगै खेलेको साथी अनायास हराउँछ । कार्यालयमा सहकार्य गरेको साथीको मेच खाली हुन्छ । सँगै मन्दिरमा गएका नाति हजुरबुबामा नाति मात्र फर्किन्छ । सँगै जीवन बिताउने वाचा सहित प्रणय सूत्रमा बाँधिएकामध्ये एकलाई चुँडेर लान्छ । आफूभन्दा प्यारो सन्तति लुछेर लान्छ । खचाखच नाट्यशालामा सबै दर्शकको वाहवाही खाने कलाकार कार्यक्रमपछि सकिन्छ । बजार गर्न गएका आमाछोरामा आमा मात्र फर्किन्छे । मृत्यु किन यति अनायास, क्रूर र निष्ठुर छ ? फेरि दोष भने रुघा, खोकी, ज्वरो, भाइरस, दुर्घटना, लट्ठी, बन्दुक वा अरू कुनै कुरालाई थोपरिन्छ ।

विश्व जित्ने सम्राट् रुघाखोकीबाट परास्त हुन्छ भनेर कसरी पत्याउने हजारौं रोगीलाई बचाएँ भनेर सफलतामा उर्हारिलने, छातीभरि तक्मा थाप्ने चिकित्सक आफै सामान्य रोगबाट पराजित हुन्छ भनेर कसरी पत्याउने ? तर पत्याउनुको विकल्प छैन । ईश्वरले गर्न नसक्ने उपलब्धि दिने वैज्ञानिक, सर्जक र निर्माताहरू एकाएक अकारण मृत्युबाट निमोठिएका छन् । दोष अरूलाई थोपरेर मृत्युले नेपथ्यको खेल खेलिरहेको छ । अन्यायी खेल खेलिरहेको छ । होइन भने सृष्टिकर्ता नै जीवनप्रति मिथ्या नाटक मञ्चन गरिरहेछ ।

जीवन सबैको बराबर हो । आफ्नै भोगाई र कर्ममा मानिस समान खुसी लिइरहेको छ । तर मृत्यु विभेद गरिरहेको छ । मृत्युले सबै जीवनलाई समान व्यवहार गर्नुपर्थ्यो । मृत्यु यति अन्यायी र क्रूर हुनु हुन्छ ? मृत्यु यति रहस्यमा रहनु हुन्छ ? मृत्यु सबैलाई समान छ भने यसको समय, कारण र क्रम पनि समान हुनुपर्छ । मृत्युले जीवनलाई सधैँ विना कारण लखेटेको छ । डिलडिलमा पु¥याएको छ, डिलबाट घचेटेको छ, तर कर्मका यात्रीहरू कत्तिखेर ख्वाप्पै यस अजंगले खाला भन्ने जान्दैनन् । रहर, कर्म, स्वाद, आकाङ्क्षा, वृत्तिको बिचैमा अदृश्य क्रूर मृत्यु ठ्याक्कै आइपुग्छ । आउनु नै थियो त यात्रा र कर्मले दुख झेल्नु अघि आएको भए हुने नि मृत्युको क्रूरताले सारा संसार र सिर्जनालाई काँडे साङ्लोले फनफनी बाँधेको छ । सृष्टिप्रतिको ईर्ष्याले होला, कर्मलाई लत्त्याउन हुनसक्छ, जहिले पनि काल अकाल टुप्लुक्क आइपुगेको छ । किन मृत्युको मृत्यु हुँदैन ? सबैलाई हुने मृत्युबाट उ चाहिँ किन अछुतो छ ? के विधाता पनि अन्यायी छ सिर्जना प्रति ?

मृत्युको क्रूरतालाई कविशिरोमणि लेखनाथले कवितामा भनेका थिए:
‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै विन्ती गरुन् झुकेर पदमा, त्यो विन्ती मान्दैन त्यो ।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।’

हामी कसैमा मृत्युवोध छैन । त्यसैले पनि मृत्युप्रति तयार छैनौं, मृत्युबाट भयभीत मात्र छौ । मृत्यु भनेको चेतनाशून्य हुनु हो, हृदय शून्य हुनु हो, अनुभूति शून्य हनु हो । जीवत्व हराएपछि, जडचेतमा पुग्नुको नाम मृत्यु हो । वा, मृत्युले हामीलाई जीवत्वहीन र चेतना शून्यमा पुर्याइ दिन्छ । सोच्ने, सम्झने, दुख्ने जस्ता कुराहरू जडचेतमा हुँदैनन् । क्षण अघिसम्म सोच, सम्झना, प्रतिभा, तुष्टि, आक्रोश, प्रतिक्रिया हराउनुको रहस्य के ? माया, प्रेम, दया जस्ता हार्दिक पक्ष कहाँ कसरी विलीन हुन पुग्छन् ? काम, क्रोध, लोभ, मोह त्यत्तिकै शून्य कसरी हुन्छ ?

शरीरबाट मस्तिष्क र हृदय अलग्गिनु मृत्यु हो । कुनै योगी साधकले आफूलाई शरीर र हृदय अनि मस्तिष्कलाई अलग्याएर पुन जीवनमा फर्कन सकेको भए मृत्युको अनुभूति अरूलाई पनि बाँड्थ्यो होला । तर त्यस्ता साधक र वोधी पनि सृष्टिले जन्माएन । वा त्यो सफलताप्रति पनि मृत्यु ईर्ष्यालु अनि बेइमान बन्यो । त्यसैले मृत्यु बाँच्यो, अरू सब मरे ।

मृत्यु अजङ्गको काल, महाभयङ्कर त्रासको स्वरूप, कल्पनाभन्दा ठुलो भयपुर । मृत्यु सम्झिने बित्तिकै आङ सिररिङ्ग हुन्छ र मन औडाहमा पुग्छ । मस्तिष्क स्तब्ध हुन्छ । मृत्युपछि चेतना शून्यमा पुगिन्छ त महाभयमा रहनु किन ? सचेत मन यसलाई स्विकार्दैन । चेतनाशून्य स्वर्गीय आनन्द पनि हो । चेतनाले नै सबैलाई दुख र असन्तुष्टिमा डुबाएको छ, आशक्तिमा उसिनेको छ, लालसमा लतारेको छ, तृष्णामा धकेलेको छ । एक अर्काबाट अलग्याएको छ । लोभमा अलग्यायो, प्रेममा अलग्यायो, प्रतिष्ठामा अलग्यायो, पैसामा अलग्यायो, पावरमा अलग्यायो । अरू धेरै कुरामा अलग्ग्यौँ, उकुसमुकुस्यौँ, औडियौैँ, तृष्णामा पाक्यौँ । मृत्यु आउँछ भन्ने जान्दा जान्दै पाक्यौँ, पिरल्लियौँ र प्रतिस्पर्धाका अनन्त तानावानामा पुग्यौँ ।

चेतना शून्यमा पुग्नु उसो भए आनन्द हो । आत्मा र शरीर छुट्टिनुको अर्थ आनन्द हो । धेरै कुरा शरीरले मागेको हो । मस्तिष्कले शरीरलाई दोष लाउँछ, आत्मालाई होइन । फेरि आत्माले शरीरको माग गर्छ र चाहनाहरू उसकै हुन्, शरीरले त धारण मात्र गरेको हो । बाँच्नु छ भने आत्मा मात्र होइन, पूर्ण शरीर पनि चाहिन्छ, शरीर मात्र होइन आत्मा पनि चाहिन्छ । एउटा अमर छ, अर्को नश्वर छ । नश्वर र अविनाशी तत्त्वको सन्तुलनले नै जीवन बनाएको हो । जब छुट्टियो, जीवन हराउँछ । त्यो छुट्टाउने चाहिँ मृत्यु हो । हठात तिमी यी दुईलाई नछुट्याऊ । सिर्जना र सेवामा लाग्न देऊ ।

आग्रह छ मृत्यु, तिमी सामयिक र सत्य भएर आऊ । तर त्यस्तो कहिल्यै देखिएन । तिमीलाई थाहा छ अजङ्गका अवरोधमा लगातार जुट्ने अदम्य पौरखी मृत्युको कारण निमोठिएको छ । लाग्छ मृत्यु प्रगति र प्राप्तिको लगातार आरिसमा छ । अभियान र निर्माणमा लाग्नेहरू बिचैमा निमोठिएका छन् । ती जिउँदा कर्मका थिए त अन्तरिक्षमा विशाल सहर बस्थ्यो, अन्तरिक्षमा नै फराकिला फाँटहरूमा अन्न र फलफूलहरू लटरम्म फल्ने थिए, मानिसहरू टाढा टाढा पुग्न पनि भौतिक दूरीलाई वास्ता नगरी डिकम्पोज भएर पुनः रिकम्पोजमा आइपुग्थे, समुद्रको पिँधमा सिर्जनाको मैदान बन्थ्यो, अरुग्रहहरु मानिसकै कब्जामा पुग्थे, हामीलाई माया गर्ने आमाबुबा, पुर्खाका बोली र वैभवहरू क्याप्चर गथ्र्यौं, निराश लाग्दा संवेदना साट्थ्यौ । तर मृत्यु तैँले त्यो कहिल्यै देखि सहिनस् । कम्तीमा यात्रा पूराको तगारो नबनेको भए हुनेथ्यो १ निश्चित अवधिपछि नश्वर शरीर नाश भएर आत्मा रमाउन त हामी पनि चाहन्छौ । तर खाउँखाउँ र गरुँगरुँकै समयमा क्रूर बन्ने तेरो बानी अन्यायको पराकाष्ठा हो । जीवन निरीह बनेकोले मात्र तेरो खाँडो जागेको हो ।

अव त मानिस पनि अरूको लागि मृत्युको सिको गर्न लाग्यो । क्रोध र आक्रोशमा मानिस अर्कोलाई ‘मरी जाओस्’ को श्राप दिन पुग्छ । सबैभन्दा ठुलो श्राप, जीवन नै नरहोस् भन्ने कामना अरूका लागि गरेर मानिस आफै मृत्यु निम्त्याउँछ । अरूलाई लाने मृत्युले के उसलाई चाहिँ बाँकी राख्छ र त्यस्तो श्राप दिएको होला ?

मानिस आशीर्वाद दिँदा पनि अजर, अमर, चिञ्जिवी बन्ने बनाउने कल्पना गर्छ । तर मृत्युदेखि हायलकायल जीवनसँग मृतसञ्जिवनी भने आविष्कार भएन । आफू मरे पनि नाम बाचोसको आशा राख्छ । आफू नै मरेपछि पनि प्रतिष्ठाको लोभ गर्छ । दानपरामिता पाएका ऋषि र बुद्धत्व पाएका सिद्धार्थमा पनि कीर्तिको लोभ थियो रे  ।

मृत्यु सधैँ आफ्नो बसभन्दा बाहिर छ । असीम वेदना, पिर र छट्पटीमा मानिस मर्ने चाहनामा पुग्छ । तर मर्न सक्दैन, विचेत भए पनि मरेको मानिँदैन । कहिले काही आफू मरिसकेको छु जस्तो लाग्छ, तर अरूले पत्याउँदैन । मृत्युलाई सधैँ अरूले घोषणा गर्नुपर्छ, मृत्यु हुनेले मृत्युको घोषणा गर्न सक्दैन । सक्थ्यो त मृत्यु हुने थिएन ।

के मृत्यु हुन श्वास प्रश्वास र रक्तसञ्चार नै बन्द हुनुपर्छ ? मस्तिष्कले चेत गुमाएपछि मृत्यु हुने होइन र ? हृदयले अनुभूति गर्न छाडेपछि मृत्यु हुने होइन र ? जैविक मृत्यु र आत्मिक मृत्युमा किन विभेद कोरिन्छ ? अमेरिकामा फेरि प्राण फर्किन्छ कि भन्ने आशामा तरल नाइट्रोजनमा राखिएका मानव लासले कुनै दिन जीवन पाउला ? पायो भने मृत्युको एउटा रहस्य अन्त्य हुने थियो र मृत्युमाथिको विजय यात्रा शुरुहुने थियो । मृत्युमा अनुभूति लिएर फर्केकाहरूले पक्कै पनि मृत्युविरुद्धको युद्धमा बन्दोवस्ती गर्न सक्ने होलान् ।

वैज्ञानिकहरूले थालेको नेक्रोवायमको अध्ययनबाट मृत्यु हुनुपछि माइक्रोव्सको अवस्थाबाट मृत्यु हुनुको रहस्य उघार्लान कि । सामान्य अनुमानमा पनि मानव शरीरका कोषिकाहरु मक्किनु, पुनर्निर्माण हुन नसक्नु मृत्यु हो । यदि कोशिकाहरूको निर्माण वा आवधिक रूपमा प्रत्यारोपण गर्न सके जैविक मृत्युलाई परास्त गर्न सकिन्छ । जैविक–रासायनिक क्रियाहरूले इम्पल्स विकास गर्न थालेपछि त्यसले आत्मिक जीवन पनि प्राप्त गर्न सक्ला । वैज्ञानिकहरू त्यतातिर पक्कै जालान । अफसोच त्यतातिर लाग्ने वैज्ञानिकहरू नै अनायास मृत्युको कब्जामा पर्दै आएका छन् ।

अहिलेसम्मको बुझाइमा जीवन घटनाक्रमको अस्थाई व्यवस्थापन मात्र हो । जन्म र मृत्युका बिच हुने तदर्थ व्यवस्थापन । त्यो यति तदर्थ छ कि कहाँ, कतिखेर के कसरी हुन्छ भन्ने कुरा रहस्यमय छन्, स्वयम् जीवनवोध गर्नेले यसमा भेऊ पाउँदैन । फगत खटिरहन्छ, खतरा मोल्छ हतारिन्छ, हौसिन्छ, लालसिन्छ, तड्पिन्छ, रिसाउँछ, मच्चिन्छ र कतिखेर नाटकको पर्दा खस्छ, चेतना र क्रियाहरू सबै त्यत्तिकै विलप हुन्छन् । मृत्यु यति रहस्यको नहुँदो हो त जीवनवोध पनि हुने थिएन, मृत्युले जीवनवोधलाई तृप्तिमा नपु¥याएको मात्र हो, मीठो चाहिँ बनाएको हो कि ?

मृत्यु सम्बन्धी भनिएका कुनै पनि कुरा अन्तिम होइनन्, मृत्यु मात्र अन्तिम हो । मृत्यु नबुझेका, नभोगेका र अनुभव नगरेकाले मृत्युका कुरा गर्दा मृत्युसम्बन्धी सत्य उद्घाटन हुँदैन, बरु भ्रम छरिन पुग्छ । अहिलेसम्म मृत्यु बारे जैविक, चिकित्सकीय र धार्मिक दृष्टिकोण मात्र बाहर आएका छन्, जुन सत्य नभै अद्र्धसत्यका नजिक छन् । अद्र्धसत्यले सधैँ अल्मल्याउँछ, निष्कर्ष दिनै सक्दैन ।

मृत्यु बारे कविकलाकार कल्पना गर्छन्, नडराऊ भन्छन् र आफै सुइँकुच्चा ठोक्छन्, मृत्युले भयको भुमरीमा पारिहाल्छ । जोनिफर ली मृत्युलाई विश्वास गर, मृत्युले नै जीवनको महत्त्व बढाएको भन्छिन्, तर मृत्युले जीवनलाई अनविश्वास गरेको भाव उनका अभिव्यक्तिभित्र लुकेको छ । कवि माधव घिमिरेले त मृत्युभन्दा निकै अघि नै ‘यसरी होस मृत्यु’ भनेर पराजय स्विकारिसकेका थिए, त्यै हाल मृत्युशैयामा रहँदा महाकवि देवकोटाले ‘म शून्यमा शून्य सरी बिलाए’ भनेर देखाए थिए । कवि, कलाकार र विचारकहरू मृत्युले जीवनलाई च्यातच्युत पार्ने निष्कर्षमा छन् । कोही मृत्यु भइहाल्छ भनेर निरिस्वरताको स्वर अलाप्छन्, एकाध भने मर्नु नै छ आ केही गरौँ भन्ने अठोट गर्लान्, फरक यत्ति हो । मृत्यु निकै नजिक छ भन्ने थाहा भाएका स्टिभ जव्सले ठिकै भने–‘सारा घमन्ड, गौरव, असफल होइन्छ कि भन्ने भय, त्रास सबै मृत्युका अघिल्तिर पराजित हुन्छन् ।’ प्रतापी राजा प्रताप मल्लले राजकुमार बालगोपालेश्वरलाई तन्त्र, मन्त्र साधना र उपचार केहीले बचाउन सकेनन्, अनन्तप्रियाको आशु हो अहिलेको रानी पोखरी । मृत्यु महाकाल हो, मृत्यु महाक्रूर छ ।

जीवन आत्माको निरन्तरता हो, अमर आत्मा नश्वर शरीरमा प्रवेश गर्दै प्राणतत्व भरिदिन्छ भन्ने गरिन्छ । प्रमाण र तथ्यको सहाराविना कुनै कुरा पत्याउन वा नपत्याउन सकिन्छ । आत्मा अमर छ भने सम्झना, ज्ञान, मूल्य र अपूरा क्रियाहरू बोकेर आउनु पर्थ्यो, यी कुरा विस्मृतिमा पर्नु हुन्थ्यो । मृत्युपछि पनि केही हुन्छ भन्ने पण्डित–पुरोहितका कुरा पनि भ्रामक कुथुङ्ग्री सिवाय केही होइनन् । आफैले अन्तरवोध नगरेका कुरा सुनाएर उनीहरू भ्रम छर्दछन् । जे गर्नेछ, जे गर्न सकिन्छ यही जीवनमा गर्ने हो । तर यी कुथुङ्ग्री भ्रामक र अपत्यारिला भए पनि मानव जीवनलाई असल काम र आकाङ्क्षामा लाग्न डर देखाउन भने केही काम लाग्दा छन् ।

तर मृत्यु सधैँ जीवनमाथि नाटक गरिरहेछ, न उ मृत्यु हुन्छ न जीवन खाएर नै अघाएको छ । अरू जीवनलाई सखाप पार्दै आएको मृत्युको चाहिँ किन मृत्यु भएन ? यो प्रश्न सबै जीवनका लागि रहस्य हो, सदाको लागि रहस्य ।