अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

प्रधानमन्त्रीले नैतिकताका आधारमा निकास दिनुपर्छ – नागरिक अभियन्ता

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ६:०० मा प्रकाशित

नागरिक अभियन्ताहरुले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक हुनुले सबै नागरिकलाई लज्जित बनाएको बताएका छन् ।ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनले पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको उल्लेख गरेको छ ।

सो प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीको निष्ठामाथि गम्भीर प्रश्न उठाएको भन्दै नागरिक अगुवाहरुले शुक्रबार एक अपिल जारी गरेका छन् ।‘प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समयमै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ’–छबुँदे अपिलको अन्तिम बुँदामा भनिएको छ ।

अभियन्ताहरुले यस्तो परिस्थिति अझ जटिलतातर्फ उन्मुख हुनसक्ने भन्दै त्यसको असर समग्र देश र देशबासीमा पर्ने चेतावनी पनि दिएका छन् । उनीहरुले त्यस्ता प्रतिवेदनले संवैधानिक प्रणालीमा वैधताको संकटका प्रमाणहरु दिनानुदिन थपिँदै गएका औंल्याएका छन् ।

भ्रष्टाचारका विभिन्न कान्ड सार्वजनिक हुनुले विषम परिस्थितिको सिर्जना भएको उनीहरुको ठम्याइ छ । यस्तो परिस्थितिबाट निकास दिनका लागि पहल गर्नपनि उनीहरुले सबैलाई अपिल गरेका छन् ।ट्रान्सपरेन्सीको प्रतिवेदनमा एसियाली मुलुकमध्ये नेपालमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको ठहर गरिएको छ ।

उक्त प्रतिवेदनले प्रधानमन्त्री ओलीको नाम नै किटेर उहाँले ठूला भ्रष्टाचारका विवादमा मुछिएका आफ्ना सहकर्मीको सार्वजनिक प्रतिरक्षा गर्ने गरेको जनाएको छ । प्रधानमन्त्रीले नै भ्रष्टाचारको अनुसन्धान गर्ने निकायमा अनुचित प्रभाव पारी त्यस्ता घटनाको अनुसन्धान गर्न नदिएको प्रतिवेदनले ठहर गरेको छ ।

प्रतिवेदनले प्रधानमन्त्री पदमा आसिन व्यक्तिको संरक्षणमा नै नेपालमा भ्रष्टाचार बढ्दै गएको विश्वव्यापी सन्देश गएको अभियन्ताहरुले उल्लेख गरेका छन् ।प्रधानमन्त्रीले नै संवैधानिक नैतिकतामा द्रुतगतिमा ह्रास आउने कार्य गरिरहेको अभियन्ताहरुको अपिलमा जनाइएको छ ।

भ्रष्टाचारका कारण प्रधानमन्त्री ओलीप्रतिको विश्वासको संकट गहिरिएको उनीहरुको बताएका छन् ।‘राजनीतिक वैधता संकटमा परिसकेपछि संवैधानिक (कानुनी) वैधतालेमात्र सत्ता टिकाउन सक्दैन भन्ने कुरा ख्याल गरिनुपर्दछ’–अपिलको पाँचौं बुँदामा भनिएको छ । अपिलकर्ताहरुमा श्रीहरि अर्याल, दिनेश त्रिपाठी, डा. नारायणप्रसाद घिमिरे, रमेशप्रसाद खरेल, इन्दु तुलाधर, ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल र राजन कुइँकेल छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू