अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुको औचित्य छैनः मन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ५:५६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको बताउनुभएको छ । नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताउनुभयो ।

तरपनि युरोपियन आकाशमा भएको प्रतिवन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उहाँको भनाई छ। त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुई वटा संगठन बनाउने प्रक्रिया अगाडि बढिसकेको मन्त्री भट्टराईले बताउनुभयो । उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको उहाको भनाई छ ।

अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनरसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनै पनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने भट्टराईको भनाई छ । कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दावी समेत मन्त्री भट्टराईले गर्नुभयो । नियमित उडान बन्द गरिए पनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उहाँको भनाई छ।

अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपालले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि उहाँले बताउनुभयो । नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको भट्टराईको दावी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू