अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

चिनियाँ राष्ट्रपतिले दिए वाइडेनलाई बधाई, सम्बन्ध सुधारको अपेक्षा

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१९ मा प्रकाशित

चीनले अमेरिकासँग व्यापार प्रविधि र सुरक्षा क्षेत्रमा जारी द्वन्द्व अन्त्य हुने अपेक्षा गरेको छ ।राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनलाई औपचारिक रुपमा बधाइ दिँदै अमेरिकासँग चिसिएको व्यापारीक सम्बन्ध सुधारको अपेक्षा गर्नुभएको हो ।

दुई ठूला अर्थतन्त्र भएका राष्ट्रको सम्बन्धले विश्व बजारलाई नै प्रभावित पार्ने भन्दै राष्ट्रपति सीले स्वस्थ र स्थिर सम्बन्ध नै अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षा रहेको बताउनुभयो ।राष्ट्रपति सीले दुवै पक्षले आपसी द्वन्द्वको अन्त्य गरेर व्यापारीक साझेदारी र सहयोगमा केन्द्रीत हुने अपेक्षा व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनले अमेरिकाको स्वस्थ र स्थिर विकासलाई प्रोत्साहन गरेको भन्दै राष्ट्रपति सीले नयाँ ढंगबाट सम्बन्ध विस्तारका लागि आफू तयार रहेको बताउनुभएको हो ।ढिला गरी जारी गरेको शुभकामना सन्देशले चीन अमेरिकासँगको यसअघिको तनावपूर्ण सम्बन्ध सुधारको पक्षमा रहेको बताइएको छ ।

प्रविधिको व्यापार र गत वर्ष चीनबाटै सुरु भएको कोरोनाको महामारीसँगै चीन र अमेरिकाको सम्बन्ध थप चिसिएको थियो । कोरोना नियन्त्रणका क्रममा विश्व स्वास्थ्य संगठन डब्ुलएचओ चीनको सहयोगी भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आरोप लगाएसँगै चीन र अमेरिकाको सम्बन्ध थप बिग्रिएको हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी वस्तुको अतिरिक्त भन्सार शुल्क निर्धारण गर्नुका साथै कतिपय वस्तुकाु निर्यात सम्झौता खारेज गरेसँगै ह्वाइटहाउस र बेइजिङको सम्बन्ध तिक्ततापूर्ण अवस्थामा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू