अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

ओलीले बैठकको मन्तव्य सार्वजनिक गरेपछि प्रचण्डको प्रस्ताव देशभर पठाइँदै

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:४० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई साभार गरेर प्रचार गर्न थालिएपछि अर्को समूहले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई देशभर पठाउने भएको छ । ओलीले सचिवालय बैठकमा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रस्तावलाई देशभरका हरेक कमिटीलाई पठाउने भएको हो ।

प्रचण्ड – नेपाल समूहले शुरुवातमा बैठक बोलाउन ओलीलाई लेखिएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, त्यसको जवाफमा प्रचण्डले लेखेको पत्र र प्रचण्डको राजनीतक प्रस्तावलाई तल्लो तहसम्म छलफलका लागि पठाउने योजना बनाएको हो । प्रचण्ड पक्षधर एक नेताका अनुसार अध्यक्ष प्रचण्डले ३ मंसिरमा पेस गरेको राजनीतिक प्रतिवेदन बुकलेटका रूपमा प्रकाशन गरेर सातवटै प्रदेशमा पठाउन लागिएको छ ।

ती नेताका अनुसार सोमबार प्रदेश तहमा पठाउन तयार पारिएका बुकलेटमा प्रचण्डको राजनीतिक प्रतिवेदन समावेश गरिएको थियो । तर त्यसमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएपछि केही सच्याएर मंगलबार (आज) सम्म सबै प्रदेशमा पठाइसक्ने तयारी गरिएको उनको भनाइ छ । प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको परामर्शमै बुकलेट तयार पारिएको ती नेताले जानकारी दिए ।

तल्ला कमिटीहरुमा पठाइएका सामग्रीमध्ये २२ कात्तिकमा प्रचण्डसहित सचिवालयका ५ शीर्ष नेताले बैठक माग गर्दै बुझाइएको अनुरोधपत्र र २८ कात्तिकमा ओलीले सबै नेतालाई बोधार्थ राखेर दिएको प्रत्युत्तर पत्रसमेत समेटेर बुकलेट प्रकाशन गरिएको बताइएको छ । प्रतिवेदन लेखनका लागि फायर ओलीले नै खोलेको हो भन्ने पुष्टि गर्न र अन्तर्संघर्षलाई व्यवस्थित बनाउन बुकलेट तयार पारिएको वरिष्ठ नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको समूहले पछिल्लो समय मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत देशभर गुटगत गतिविधि बढाएको र पार्टी निर्णयविनै जबजमा छलफल सुरु गरेको निष्कर्षसहित त्यसलाई आक्रामक रूपले प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहले यस्तो तयारी गरेको छ ।

स्रोतका अनुसार यसरी दस्ताबेजलाई पुस्तकका रूपमा प्रकाशन गरेर छलफलका लागि तल्ला कमिटीमा नपठाउन महासचिव विष्णु पौडेलले गरेको आग्रहलाई अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ । दस्ताबेज पार्टी सचिवालय बैठकमा पेस भएर छलफल र निर्णय नै नभईकन पुस्तकका रूपमा प्रकाशन गरेर तलसम्म पठाउनुले पार्टी विभाजनलाई बल पुग्ने भन्दै महासचिवले त्यसो नगर्न गनुभएको अनुरोध अध्यक्ष प्रचण्डले अस्वीकार गनुर्एभएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयले योजनावद्ध ढंगबाट जानीबुझी बैठकको विषयवस्तु रेकर्ड गरेर सार्वजनिक गरेको प्रचण्ड–नेपाल समूहले आरोप लगाएको छ । ओलीले बैठकमा राखेको मन्तव्य भोलिपल्टै अधिकांश सञ्चारमाध्यमबाट बाहिरिएको थियो । यसरी नेकपा भित्रको अन्तरसंघर्ष थप पेचिलो बन्दै गएको छ । महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव बनाउन आग्रह गरेपनि प्रचण्डले अस्वीकार गर्नुभएपछि पार्टी विभाजन उन्मुख बनेको ओली पक्षधर नेताहरु बताउन थालेका छन् । अन्तर्संघर्षलाई तलसम्म विस्तारित हुन नदिन उनीहरुले दौडधुप गरेपनि बुकलेट प्रकाशनपछि नेकपा शीर्ष तहको विवादले जिल्ला तहसम्म प्रवेश पाउने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू