अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

सताब्दी पुरुष सत्यमोहनद्वारा डिआरका दुई पुस्तक र एक गीति एल्बम लोकार्पण

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:२३ मा प्रकाशित

शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रासंस्मरण ‘सेन्टोसा’, पेशागत अनुभव एवम् अनुभूतिको सङ्ग्रह ‘समयको डोब’ र गीति एल्बम ‘भूइँचम्पा’ को एक समारोहबीच लोकार्पण गर्नुभएको छ ।शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार, ललितपुरस्थित निवासमा भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि जोशीले नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पुर्याउनुपर्ने आवश्यकतामाथि जोड दिँदै त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचानलाई विश्वव्यापी गर्नसक्छौँ भन्नुभयो ।यात्रालेखन अत्यन्त उत्तरदायीपूर्ण लेखन भएको उहाँको धारणा थियो । उहाँले कोरोनाका कारण अन्य गतिविधिजस्तै नेपाली साहित्यिक गतिविधिहरू केही समय रोकिए पनि फेरि चहलपहल बढेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले साहित्यकार डी. आर. का कृतिहरूको समीक्षा गर्दै अघिल्लो यात्रानिबन्धकृति कान्तिपुरदेखि सन्दकपुरसम्मभन्दा सेन्टोसा विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोणबाट महत्वपूर्ण भएको र समयको डोबले फोटोग्राफी पेशामा संलग्न हुँदाका सङ्घर्षलाई अभिलेखन गरेको बताउनुभयो । सभापतिको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले अहिले नेपाली निबन्ध र यात्रालाई अंग्रेजीमा अनुवाद गर्ने कामलाई अघि बढाएको बताउनुभयो ।

उहाँले लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अंग्रेजीअनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अंग्रेजी अनुवादको काम अघि बढेको जानकारी पनि दिनुभयो ।कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडी, प्रसिद्ध निबन्धकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, सङ्गीतकार तथा संचारकर्मी सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बीएन पुस्तक संसारका सूर्य बीसीले पनि लोकार्पित कृति र कृतिकारबारे आ(आफ्ना धारणा राख्नुभएको थियो भने स्रष्टा डी. आर. ले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

स्रष्टा डी. आर. को सेन्टोसा दोस्रो यात्रा निबन्धकृति हो । समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिहरूको विचारहरू समेटिएका छन् । छैटौँ गीति एल्बम भूइँचम्पामा विभिन्न सङ्गीतकारको सङ्गीतमा विभिन्न गायकगायिकाले गाएका सात ओटा गीत छन् । गीतहरूमा सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको सङ्गीत रहेको छ भने सञ्जीवनी, संगीता प्रधान, उदय सोताङ र मनिला सोताङ, अन्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईले स्वर दिनुभएको छ ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीको विशेष सम्मान पनि गरिएको थियो । यसैगरी प्रमुख वक्ता प्रमोद प्रदान र सर्जक राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु मन्जिला शर्मा, अनिल शर्मा, कमला रिसाल, प्राज्ञ ज्योति प्रकाश, पत्रकार तुलसी भावुकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू