अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

“लोकप्रियता देखेर केही तत्व सरकार ढाल्ने खेलमा”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो ।

सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो ।प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भएको भन्दै सरकार परिवर्तनको हल्ला निराधार भएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रणालीविरुद्ध नै प्रहार भइरहेकाले सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।उहाँले भारतद्वारा मिचिएको नेपालको भूमि फिर्ता लिने, छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै लैजाने पनि बताउनुभयो ।

घुन्साजस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगम हुनेगरी विकासका योजनाहरु सञ्चालन गरिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो ।स्थानीयले भने कञ्चनजंघाको प्रवेशद्वारका रुपमा रहेको घुन्सालाई नमुना गाउँको रुपमा विकास गर्न माग गरेका छन् ।कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्नुभयो ।

प्रधानमन्त्रीसँगै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत घुन्सा पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू