अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 13:31

तिब्बतका निर्वासित सरकार प्रमुख ६० वर्षमा पहिलो पटक छिरे ह्वाईट हाउस

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:१३ मा प्रकाशित

तिब्बतका नेता ६० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस छिरेका छन् ।निर्वासनमा रहेका तिब्बत सरकारका प्रमुखले ६ दशकमा पहिलो पटक अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस छिरेका हुन् ।चीनले अमेरिकामाथि तिब्बतमा अस्थिरता फैलाउन खोजेको आरोप लगाइरहेका बेला तिब्बती सरकार प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गर्ने कार्यबाट दुई देशबीचको सम्बन्धमा थप तिक्तता आउने अनुमान गरिएको छ ।

अमेरिकी समयअनुसार शुक्रबार केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष लोबसांग सान्गेलाई तिब्बती मामिला हेर्ने अमेरिकी विशेष संयोजक रोबर्ट डेस्ट्रोसँग भेटघाटका लागि बोलाइएको हो ।भारतको धर्मशालास्थित तिब्बती प्रशासनले दुई पक्षबीच अभूतपूर्व वैठक भएको र यो आगामी दिनमा अझै घनिभूत र औपचारिक बन्ने बताएको रोयटर्सले जनाएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच तिब्बतमा दलाई लामाको सरकार अपदस्थ गरी बेइजिङको शासन लादेसँगै विवाद रहँदै आएको छ ।गएको जुलाईमा अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले तिब्बतमा बेइजिङबाट मानवअधिकार उल्लंघन भइराखेको आरोप लगाउँदै तिब्बतको सार्थक स्वात्तताका लागि अमेरिकी समर्थन रहने बताउनुभएको थियो ।

जबकी चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा तिब्बत र हङकङमा चिनियाँ अखण्डतामाथि खेल्न खोज्नेहरुलाई धूलिसात् बनाइने भन्दै कडा चेतावनी दिनुभएको थियो । चीनले भने सामन्ती अतितबाट तिब्बतलाई बाहिर निस्कन सहयोग गरे पनि सन् १९५० को नियन्त्रणलाई शान्तिपूर्ण मुक्तिका रुपमा ब्याख्या गर्दै आएको छ ।

तर निर्वासित आध्यात्मिक नेता दलाई लामा पक्षधर नेतृत्वले भने उक्त घटनालाई बेइजिङको सांस्कृतिक नरसंहारको संज्ञा दिने गरेका छन् । राष्ट्रपति सीले अगस्तमा मात्रै पनि चीनको राष्ट्रिय एकता रक्षाका लागि तिब्बतमा एक अभेद्य किल्ला निर्माण आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू