अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१६ मा प्रकाशित

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुने भएको हो ।

श्रीसदन खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरुलाई आजीवन संरक्षण गर्नुपर्ने बताउनुभयो । इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकास क्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । देश तथा विदेशका अनुसन्धानकर्ताहरुका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली इतिहासमा २४० वर्षीय शाह बंशीय इतिहासको साक्षत नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको शुरुमै श्री सदन खुला गर्ने योजना रहेपनि कोभिडका कारण सम्भव नभएको बताउनुभयो । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उहाँले बताउनुभयो । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको पनि उहाँले बताउनुभयो । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने उहाँले बताउनुभयो ।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्रहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू