अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

अप्रजातान्त्रिक गतिविधि नगर्न ट्रम्पलाई रिपब्लिकन सिनेटर रोम्नीको चेतावनी, क्रुद्ध ट्रम्पद्धारा रोम्नीलाई ‘गैंडा’ को संज्ञा

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१५ मा प्रकाशित

निर्वाचनमा हारिसकेपछि पनि ह्वाइट हाउसमा बसेर डोनल्ड ट्रम्पले अप्रजातान्त्रिक गतिविधि गरिरहेको भन्दै ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर मीट रोम्नीले आलोचना गर्नुभएको छ ।आफ्नो आलोचना गरेकामा क्रूद्ध ट्रम्पले भने यूटाहका सिनेटर रोम्नीलाई नै ‘गैंडा’ भन्दै कटू टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नै रोम्नीलाई भद्दा गाली गर्नुभएको हो ।सन् २०१२ को राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार रहिसकेका सिनेटर रोम्नीले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडनको जीत उल्टाउन ट्रम्पले गरिरहेको प्रयासलाई ‘प्रजातान्त्रिक हर्कत’ भनेपछि ट्रम्प आक्रोशित देखिनुभएको हो ।

ट्रम्पले निर्वाचन परिणाम उल्ट्याउन केही राज्यमा उजुरी दिएपनि ती उजुरीमा प्रमाण नहुँदा नाकाम देखिएको छ । हालै जोर्जियामा धाँधली भएको भन्दै फेरि दाहोर्याएर हातैले गणना गर्दा पनि बाइडन विजयी हुनुभएको छ । यो प्रयास पनि सफल नभएपछि अहिले ट्रम्प आफ्नो प्रभाव भएको र रिपब्लिकन निकट अधिकारीहरु रहेका राज्यमा मत गणना प्रमाणित गर्न नै रोक्न लगाउन थाल्नुभएको छ । जुन कार्यले अमेरिकी प्रजातन्त्रकै धज्जी उडिरहेको रोम्नीको टिप्पणी थियो ।

निर्वाचनमा बाइडनले फराकिलो जीत हासिल गरिसक्दा पनि हार अस्वीकार गरिरहनुभएका ट्रम्पले चुनावमा धाँधली भएको भन्दै यो साता आफू विजयी भएको भन्दै लगातार ट्वीट गर्नुभएको थियो । रोम्नीले आफ्नो ट्वीटमा भन्नुभएको थियो, ‘कुनै पनि अदालतसमक्ष व्यापक धाँधली र षड्यन्त्र भएको कानुनी रुपमा विश्वसनीय प्रमाण पेश गर्न नसकेपछि राष्ट्रपतिले अब राज्य र स्थानीय अधिकारीहरुमाथि दबाबको सहारा लिन थालेका छन् । बहालवाला एक अमेरिकी राष्ट्रपतिबाट यति खराब र अलोकतान्त्रिक गतिविधि हुनेमा कल्पना पनि गर्न सकिन्न ।’

रोम्नीलाई गैंडा भनेका ट्रम्पले उनी नाम मात्रका रिपब्लिकन भएको र सन् २०१२ मा अहिले प्रशंसा गरिएका ओबामाबाट आफनै गर्दन काटेर हत्या गरिएको बुझ्न सुझाव दिनुभयो । रोम्नीका अलवा नेब्रास्काका रिपब्लिकन सीनेटर बेन सासेले पनि राष्ट्रपति ट्रम्पको आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू