अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान – स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ५:५९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजारको परीक्षण भइसकेको जानकारी दिनुभयो । सामथ्र्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको भनाइ छ ।

मन्त्री ढकालले विश्वमा कोरोनाविरुद्धको खोप उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भइ प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली जनतालाई पनि ‘भ्याक्सिन’ दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यानकेन्द्रित गरी काम गरिरहेकोे बताउनुभयो । उहाँले अहिलेपनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत ‘होम आइसोलेसन’मा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घर–घरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताउनुभयो ।उहाँले चुनावमा भोट माग्न जनताको घर–दैलोमा पुगेजस्तै कोरोना रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु घर–घरमा पुग्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले दलहरुले पनि आफ्ना भ्रातृसंस्थाहरुलाई परिचालन गरी गाउँ–गाउँमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू