अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

यात्रु नपाएपछि १२ वटा वायुसेवाले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न सकेनन्

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ६:०१ मा प्रकाशित

थाइल्याण्ड, भारत, बंगलादेश र सिंगापुरबाट नेपालमा उडान गर्दै आएका १४ मध्ये १२ वटा वायुसेवाले अझै नियमित उडान गर्न सकेका छैनन् । कोरोना महामारी सुरु भएसँगै गत चैतदेखि रोकिएको अन्तर्राष्ट्रियतर्फको उडान नेपाल सरकारले भदौ १६ देखि खुला गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान पुनः सुरु भएपछि १० वटा मुलुकका वायुसेवाले मात्रै नियमित उडान थालेका छन् भने अन्य ४ वटा मुलुकबाट नियमित उडान सुरु हुन सकेको छैन ।प्राधिकरणका अनुसार,नेपालमा दक्षिण कोरिया, मलेसिया, हङकङ, थाइल्यान्ड, सिंगापुर, भुटान, चीन, बंगलादेश, भारत, ओमन, यूएई, कतार, कुबेत र टर्की गरी १४ वटा मुलुकबाट उडान हुन्छ ।

जसमा नेपालका तीन वटा नेपाली वायुसेवासहित ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका छन् । तर, हिउँदयामको तालिकाका लागि १८ वटा वायुसेवाले मात्रै अनुमति लिएका छन् ।नेपालमा उडान अनुमति पाएर पनि नियमित उडान नगर्ने ३० वटा वायुसेवामध्ये कोरियन एयर, सिल्क, ड्र्यागन, ओमन, इतिहाद, विमान बंगलादेश, थाई लायन र थाई एयर छन् ।

त्यस्तै भारतको एयर इन्डिया, इन्डिगो, स्पाइस जेट, भिस्तारा तथा चीनको सिचुवान र तिब्बत एयरलाइन्सले पनि नियमित उडान गरेका छैनन् । ३० वटा वायुसेवामध्ये हिउँदमा नियमित उडानको अनुमति लिने १८ वायुसेवा मात्रै छन् । तर अनुमति लिएर पनि धेरै नियमित उडानमा फर्कन न सकेको प्राधिकरणले जनाएको छ ।

सातामा केही दिन चार्टर उडानमै सीमित छन् । कोरानाको महामारी सुरु हुनुअघि अन्तर्राष्ट्रियतर्फ दैनिक १ सय १४ वटासम्म उडान भएका थिए । अहिले दैनिक १८ हाराहारी उडान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू