अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

ट्रम्पले सहकार्य नगरे अझ धेरै मानिसको मृत्यु हुन सक्छ – बाइडेन

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिनुभएको छ । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताउनुभयो । वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले सहकार्य गरेनौं भने धेरै मानिस मर्नेछन्,’ डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले भन्नुभयो ।

बाइडेन र उहाँका सहयोगीहरुले ट्रम्प प्रशासनले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । ट्रम्प प्रशासनले भने खोप वितरणबारे छुट्टै योजना बनाइरहेको बताइरहेको छ । बाइडेनले जति छिटो सहकार्य गरेर अघि बढ्न सकियो त्यति छिटो कोरोना महामारीबाट छुटकारा पाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ । राष्ट्रपति ट्रम्पले भने २३२ इलेक्टोरल भोट पाउनुभएको छ । रिपब्लिकन पार्टीले जोर्जिया राज्यमा धाँधली भएको आरोप लगाउँदै कानुनी चुनौती दिएपछि त्यहाँ भने हातैले पुनः मतगणना भइरहेको छ । तर सीएनएन, बीबीसी, एपीलगायतका सञ्चारमाध्यमले भने जोर्जियामा बाइडेन विजयी भएको प्रक्षेपण गरिसकेका छन् ।

राष्ट्रपति ट्रम्पले भने पटक–पटक ‘मैले चुनाव जितेँ’ भन्दै झुटो दाबी गर्दै ट्वीट गरिरहनुभएको छ । ट्रम्पले कुनै पनि हालतमा हार नस्वीकार्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू