अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

अमेरिकन कम्पनी मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने

बिआरटीनेपाल २०७७ मंसिर १ गते ९:२६ मा प्रकाशित

बिबिसी । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ । फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भए लगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ ।

दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ । मोडेर्नाले यसलाई एउटा ‘ठुलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् ।

कति प्रभावकारी छ ?
यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । बाँकीलाई ‘डम्मी खोप’ (वास्तविक खोप होइन) लगाइएको थियो । पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो । ती ९५ मध्ये केवल ५ जना मात्र वास्तविक खोप दिइएकाहरू थिए । बाँकी ९० जना ‘डम्मी खोप’ दिइएकाहरू थिए । यो खोपले कोरोना भाइरसबाट ९४ दशमलव ५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ । ‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठुलो दिन हो’, मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले भने ।

सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन । तर, प्यारा सिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ । ‘कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौँ’, इम्पेरिएल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भने ।

भण्डारणमा सहज
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एक महिनासम्म राख्न सकिन्छ । फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू