अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

अनेसास न्यूह्यामसायरले मनायो ११२ औ लक्ष्मी जयन्ती र सातौँ साधारण सभा

ईश्वरी भट्ट २०७७ मंसिर १ गते ८:२६ मा प्रकाशित

न्यूह्यामसायर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले यही नोभेम्बर १४,२०२० मा संस्थाको सातौँ साधारण सभा र ११२ औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती जुमको माध्यमबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा. हेमनाथ पौडेलको प्रमुख आतित्थ्यतामा भव्य रूपमा मनाएको छ। च्याप्टर उपाध्यक्ष रमा न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विओटी उपाध्यक्ष पदम विश्वकर्मा, समालोचक साहित्यकार स प्रा महेश पौडेल, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाहरूको विशेष आतित्थ्यता रहेको थियो ।

महाकविको फोटोमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा आन्या वैद्य, रेहा अधिकारी र अर्विन वैद्य (८-१०) वर्षका नानी बाबुहरूले नेपाली राष्ट्रिय गान र श्रीयम रिमालले अमेरिकी राष्ट्रिय गान गाउनु भएको थियो । च्याप्टरका निवर्तमान अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष कृष्ण कुमार गिरीले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै अनेसास च्याप्टरले गरेका कामहरू र प्रक्रिया बारे चर्चा एवं उच्च प्रशंसा गर्नु भयो ।

प्रमुख अतिथिको वक्तव्यमा प्रा डा हेमनाथ पौडेलले अनेसासले डायसपोरिक नेपाली भाषा साहित्य विकाशमा ठुलो योगदान गरेको चर्चा गर्दै अनेसास न्यूह्यामसायरलाइ धन्यवाद दिनु भएको थियो । आफ्नो अगाडि भनाइमा उहाँले देश बाहिर रहेर भाषा साहित्यको क्षत्रमा काम गर्ने साहित्यकारहरूलाइ वार्षिक दुइलाख पुरस्कार दिने प्रज्ञाको कार्यक्रम रहेको र डायसफोरिक साहित्य प्रकाशन गरिने कार्यक्रम वारेसमेत बताउनु भएको थियो ।

स.प्रा. महेश पौडेलले महाकविको बारेमा विस्तृत एवं अत्यन्त महत्त्वपूर्ण व्याख्या गर्नु हुँदै महाकवि जस्तो व्यक्ति पाउनु “न भुत्तो न भविष्यति” जस्तै हो भन्नु भयो । विओटी उपाध्यक्ष पदम विश्वकर्माले न्यूह्यामसायर च्याप्टरले गरेका कामहरूको प्रशंसा गर्दै ॲाफू विगत देखी सहभागी हुने गरेको एक उत्कृष्ट च्याप्टर भन्दै ॲाफ्नो रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्धनपूजाले आफ्नो न्यूह्यामसायरसंग अन्योन्याश्रित सम्बन्ध भएको भन्दै एक व्यवस्थित कार्यक्रम गर्ने च्याप्टरको रूपमा पाएको बताउँदै आफ्नो रचना वाचन गर्नु भएको थियो । त्यसै गरी केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्लेहरूले पनि शुभकामना मन्तव्य र आफ्ना रचना वाचन गर्नु भएको थियो । त्यसै गरी कार्यक्रममा रचना वाचन तथा शुभकामना मन्तव्य राखिनुहुनेहरूमा प्रा डा रुद्र अर्याल, डा पुष्पमान जोशी, बोस्टन च्याप्टर अध्यक्ष यम पौडेल, कवि लाल गोपाल सुवेदी, साहित्यकार महेश्वर पन्त, पूर्व च्याप्टर अध्यक्ष अग्नि पराजुली, सल्लाहकार क्षत्र कुमारी गुरुङ, सल्लाहकार शिव कुमार राई, सल्लाहकार डम्बर कडरिया, राम चन्द्र भण्डारी, ईश्वरी भट्ट, सल्लाहकार मुक्ति नारायण राई, वटु न्यौपाने, तारादेवी न्यौपाने हुनु हुन्थ्यो ।

कार्यक्रममा एक रोचक देउसी भैलो प्रस्तुत गरिएको थियो । जसमा साना नानीहरू जुनिपर गुरूड॰ र दिसीता गुरूड॰ ले भैली नृत्य नाचेका थिए । त्यसै गरी विदिशा गुरूड॰ को रोचक नाच, भूमिका राइको भ्वाएलीन वाद्यवादन प्रस्तुत थियो भने कार्यक्रममा उपस्थित महानुभावहरूबाट संस्थालाई चन्दा-दान समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालनको क्रममा प्रदान सम्पादक ईश्वरी भट्टले नेपाली कक्षाका ६० जना भाइ बैनीहरूलाई प्रोत्साहन स्वरूप प्रदान गरिने गिफ्ट कार्ड र उपहार कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा उपस्थित महानुभावहरू र सफल कार्यक्रम पस्केकोमा संस्थालाई संरक्षक उमेश कोइरालाले धन्यवाद व्यक्त गर्नु भएको थियो। अन्तमा कार्यक्रम सभापति रमा न्यौपानेले लक्ष्मी प्रसाद देवकोटाका कविताका केही हरफहरू वाचन गर्दै सभा समापन गर्नु भएको थियो ।

प्रतिक्रिया