अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

ए भाइ यसपालि यस्तै भयो

कमला न्यौपाने २०७७ कार्तिक ३० गते ९:३६ मा प्रकाशित

सानो दुनामा
मुख रातो बनाउने मिठा पान, सुपारी
सयपत्री फूलको माला र सप्तरङ्गी टीका
ओखरको सगुन
र एक युग दिर्घायूको कामना बोकेर
म तिमीलाई भेट्न तिहार लिएर आउँथेँ

मलाई थाह छ
मेरो बाटो तिमी हेरिरहेका हुन्थ्यौ
आउन ढिला भयो भने
दिदीलाई सन्चो भएन कि भनी फोन गर्थ्यौ
आहा, त्यो दिदीभाइको माया थियो

भाइ
तर यस पटकको तिहार अर्कै छ

फुल्न त बारीभरि
सयपत्री र मखमलीहरू फुलेका छन्
तर भाइको गलामा नपरी ओइलाउने यी फूलहरूको
अर्थ के छ र मेरो भाइ ?

यमराजलाई सदाका वर्षझैँ यस वर्ष पनि मैले
ढोकाबाट बाहिर मिल्काउन नपाउने तिहार
मलाई के निद्रा लाग्दो हो भाइ

निराश र अन्योलमा आज
ती सदियौँको परम्परा यस पटक टुटेको छ

ए मेरो माइती राजा
यसपालिको तिहार यस्तै हुने भो

म माइतीको ढोका ढकढकाउन
असमर्थताका सन्देश दिन विवश छु
मलाई माफ गर मेरो भाइ

म तिम्रो चिरञ्जीवीको कामना यतैबाट गरौँला
प्रेमका मखमली र सप्तरङ्गी टिकाले पुजौँला
तेलको धाराले मनमनै घेरौँला
र यमराजको बाटोलाई म यतैबाट छेकौँला

मेरो म यति टाढा अनकन्टारमा छु
र तिमीलाई भेट्न यस पटक छु असमर्थ
मलाई माफ गर मेरो भाइ
के दिदी-भाइको प्रेमको डोरी
आशीर्वादका सन्देशमा बुन्निन र ?