अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

नेकपा विवादको मुख्य कारण‘अध्यक्षमा बसेर गुटबन्दी गर्ने ओली प्रवृत्ति’– आर. के. मैनाली

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते २०:४७ मा प्रकाशित

नेपालको कम्युनिष्ट आन्दोलनका पुराना नेता राधाकृष्ण मैनालीले सत्तारुढ नेकपामा देखिएको विवादको चुरो अथवा मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति र कार्यशैली भएको बताउनु भएको छ । पार्टीको अध्यक्ष भएर पनि आफू सरहका नेताहरुलाई सहयोद्धाको व्यवहार नगर्ने र गुटबन्दी गर्ने ओलीको प्रवृत्ति र कार्यशैलीले नेकपामा आन्तरिक विवाद बढेको उहाँले बताउनुभयो ।

झापा क्रान्तिका एक प्रमुख नेता मानिनुहुने मैनालीले भन्नुभयो, ‘सत्ता स्वार्थ, पार्टीको नेतृत्वमा रहिरहने आकांक्षा र अर्को निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने लालसाले ओलीले पार्टीमा गुटबन्दी चर्काइरहेका छन्’, उहाँले भन्नुभयो, जबसम्म ओलीमा पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको मानिसले यसरी गुटबन्दी गर्नुहुन्न भन्ने चेतना जागृत हुँदैन, तबसम्म नेकपा विभाजन नभए पनि जिउँदो त हुन्छ तर चलायमान हुन सक्दैन ।’

नेकपाको आन्तरिक विवाद बढेको परिप्रेक्षमा विभाजनको सम्भावनाबारे राखिएको जिज्ञासामा नेता मैनालीले भन्नुभयो, ‘म त्यो सम्भावना देख्दिनँ, किनभने ओली, प्रचण्ड र माधव नेपालसहितका नेताहरुको लडाइँ विचार, कार्यक्रम र सिद्धान्तमा नभई सत्ता स्वार्थमा केन्द्रीत देख्छु ।’ पहिलो अध्यक्ष र मुलुकको प्रधानमन्त्री पदमा रहेको हुनाले पार्टी विवाद समाधानका लागि ओलीले आफ्नो हठ त्याग्नुपर्ने मैनालीको भनाइ छ ।

हाल राजनीतिमा निस्क्रिय रहनुभएका नेता मैनालीले नेकपामा उत्पन्न विद्यमान विवादको अर्को मुख्य कारण तत्कालीन नेकपा (एमाले) र एमाओवादी पार्टीबीच एकताको समयमा एकीकृत पार्टीको विचार, सिद्धान्त र कार्यक्रमबारे नेताहरु प्रवेश नै नगर्नु पनि रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीसहितका नेताहरुले आ(आफ्ना कमजोरी सच्याएर सबै कमिटीहरुलाई निश्चित संगठनात्मक ढाँचाबाट सञ्चालन गर्न सके मात्रै नेकपाले पुर्नजीवन पाउने अन्यथा दिनानुदिन जनताको विश्वास गुमाउँदै जाने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू