अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

पटाका पड्काउँदा आगलागीसँगै स्वास्थ्यमा गम्भीर खतरा, सचेत रहन विज्ञको सुझाव

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:४८ मा प्रकाशित

तिहारमा पटाका पड्काउँदा स्वास्थ्यमा खतरा हुने भएकाले ध्यान दिन विज्ञले सुझाव दिएका छन् । तिहारको बेलामा पटाका पड्काउँदा र रकेट, झिरझिरे, भुइँचम्पा जस्ता आतिसबाजी गर्दा स्वास्थ्यलाई गम्भीर असर पुर्याउने भन्दै विज्ञले सचेत रहन सुझाव दिएका हुन् । पटाका पड्काउँदा त्यसबाट निस्कने हानिकारक रसायन र ठूलो आवाजले आँखा, कानसहित विभिन्न स्वास्थ्य समस्या हुन सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले बताउनुभयो ।

पटाका पड्काउँदा निस्कने ठूलो आवाजका कारण कान नसुन्ने, केमिकलका कारण आँखामा समस्या हुने, निमोनिया, श्वासप्रश्वासमा समस्या, मुटुमा र फोक्सोमा समस्या हुने र छालामा एलर्जी समेत हुने गर्छ ।पटाकामा विष्फोटको स्वरले मात्र नभएर यसबाट निस्किने विभिन्न विषाक्त ग्यास, रसायन, प्रदूषण र सूक्ष्म कणहरूले मुटुको रक्तनलीमा अवरोध भएका वा हृदयघात भएकाहरूमा अचानक समस्या उत्पन्न हुन सक्छ । पटाका पड्काइसकेपछि निस्कने रसायन हानिकारक हुने र त्यसले मानव स्वास्थ्यका साथै वातावरणमा पनि असर गर्ने उहाँको भनाइ छ ।

रमाइलो गर्न भन्दै पटाका नपड्काउन र बालबालिकालाई पनि नदिन अभिभावकलाई जनस्वास्थ्य तथा वातावरण वैज्ञानिक शाहको सुझाव छ । पटाका पड्काउँदा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता विषाक्त ग्यास निस्कने गर्छ । यस्तै पटाकाबाट अचानक निस्किने ठूलो र तीव्र आवाजले मुटुको धड्कनसम्बन्धी रोग भएकाहरूको समस्या झन् बढाउन सक्ने उहाँले बताउनुभयो ।

पटाकाबाट निस्किने विषाक्त ग्यास र रसायनले गर्दा दम रोगी र मुटु रोगीहरूको समस्या गुणात्मक रुपमा बढाउन सक्छ । रक्तचापका बिरामी र विशेष गरी अनियन्त्रित रक्तचाप भएकाहरूमा ठूलो र कडा आवाजले गर्दा असजिलो अनुभव हुने र अचानक मुटुको समस्या बल्झिन सक्नेतर्फ सचेत रहन पनि शाहले सुझाव दिनुभएको छ । यसका साथै पटाका पड्काउँदा त्यसबाट निस्कने आगोले शरीर जल्ने तथा आगलागीका घटना पनि हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू