अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 14:49

तिहार पर्वको पौराणिक र सांस्कृतिक पक्ष

प्रा.डा.सोमप्रसाद उपाध्याय २०७७ कार्तिक २८ गते २१:५८ मा प्रकाशित

नेपालीहरूले मनाउने दोस्रो ठूलो हिन्दूपर्व तिहार हो । यो पर्व कार्तिककृष्ण त्रयोदशीबाट शुरू भएर कार्तिकशुक्ल द्वितीयासम्म जम्मा पाँचदिन मनाइने र यस पर्वका अवसरमा यमराजको पूजाआजा गरिने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस चाडमा किन यमराजको पूजा हुन्छ भन्ने सम्बन्धमा एउटा पौराणिक कथा पाइन्छ, जसअनुसार एकपटक दूतहरूले यमराजलाई रोगी, बृद्ध र अकालमा मृत्यु हुनेहरूलाई ल्याउनु नपरेमा राम्रो हुने विचार व्यक्त गरेछन् भने यमराजले पनि उक्त समयमा घर सफासुग्घर राखी उनको पूजाआजा गरेमा मानिसहरूको अकाल मृत्यु हुने छैन भन्ने कुरा बताएछन् । यता यमराजका दूतहरू काग र कुकुर समेत भएकाले तिहारमा तिनीहरूको समेत पूजाआजा गर्ने चलन यहींबाट शुरू भएको हो भन्ने जनविश्वास छ ।

तिहारको उत्पत्तिका सम्बन्धमा प्राप्त किम्बदन्तीअनुसार जसले पाँच दिनसम्म घरआँगन सफा राखेर यमराजको पूजा गर्दछ, त्यसको अकाल मृत्यु हुँदैन । यो चाड यस आधारमा यमराजको पूजाआजासँग सम्बन्धित छ रहेको मानिन्छ । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । यसैगरी यमराजकी दिदी यमुनाले यमराजको पूजा गरेको तथा दिदीभाइको माया अटल रहोस् भन्ने कामना गरेको हुनाले भाइटीका लगाउने गरिएको मान्यता राखिन्छ । यसले दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम र सद्भाव प्रकट गर्न सहयोग गर्दछ भन्ने विश्वास गरिन्छ ।

तिहारको पहिलो दिन कागको र दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ । त्यस्तै तिहारको तेस्रो दिन अर्थात् कार्तिक कृष्णऔंसीका दिन विहान लक्ष्मीका रूपमा रहेका गाईको र साँझमा लक्ष्मीको पूजाआजा गर्ने परम्परा पाइन्छ । धन्यधान्यकी देवी लक्ष्मीको पूजाआजाका सम्बन्धमा जनमानसमा प्रचलित एउटा कथाअनुसार वामनावतार विष्णुले बलीको यज्ञ पूरा हुन नदिएपछि उनीसँग विष्णुले के माग्नु छ भनी सोधेकोमा बलीले पनि जुन घरमा यमपञ्चक र दीपावली गरिन्छ, त्यस घरमा लक्ष्मीले बास गरून् भन्ने कुराको माग गरेकाले विष्णुले बलीको इच्छा पूरा हुने आश्बासन दिएछन् । उक्त कथनअनुसार त्यसै समयदेखि तिहारका समयमा दीपावली गरेर लक्ष्मीपूजा गर्न लागिएको हो भनिन्छ । नेपाली समाजमा प्रचलित शिवरात्री, मोहरात्री, कालरात्री र सुखरात्रीमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रीका रूपमा लिने गरिन्छ । त्यस दिन बत्ती बालेर विशेष उत्सवका साथ लक्ष्मीपूजा गर्ने परम्परा छ । गाउँघरमा त्यसै रात महिला र कन्याहरू भैलो खेल्ने
गर्दछन् ।

तिहारको चौथो दिन या कार्तिकशुक्ल प्रतिपदाका दिन गोरू पूजा, बली पूजा र गोबर्धन पूजा गर्ने चलन छ । काठमाडौं उपत्यकाका नेवारहरूचाहिं त्यस दिन आप्mनो दीर्घायुका लागि म्हपूजा गर्ने गर्दछन् (कोइराला, २०५२ः ३६) । त्यसै दिनदेखि नेपालमा नेपाल सम्वत्को नयाँ साल शुरू हुने गर्दछ ।

यता तिहारको अन्तिम दिन या कार्तिकशुक्ल द्वितीयाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको पूजा गर्दछन् । भाइपूजाको शुरूवातसम्बन्धी एउटा पौराणिक कथाअनुसार अघि एकपटक यमराजकी बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घरमा निम्ता गरिछन् । वहिनीको निम्ता मान्न यमराज पनि यमुनाको घरमा गएछन् । यमुनाले दाजुको सत्कार सम्मान गरी पूजा गरेको र उनले अरू दिदीबहिनीले पनि यस्तै दाजुभाइलाई भेट्न पाउन् भन्ने बर माग्दा यमराज खुशी भएकाले उनले त्यस्तै हुने बर दिएछन् र त्यसै दिनदेखि तिहारमा दिदीबहिनीले भाईपूजा गर्न लागेका हुन् भनिन्छ । भाइपूजाको दिनदेखि तिहार पर्व पनि समाप्त हुने गर्दछ ।

तिहारपर्व नेपालमा कहिलेदेखि मनाउन लागियो भन्ने कुरा हालसम्म स्पष्ट हुन सकेको छैन । नेपाल सम्वत शुरू भएताका या ई. ८७९ देखि चाहिं यो पर्व वर्सेनि मनाउने गरिएका प्रमाणहरू पाइन्छन् । तसर्थ यो पर्व पनि प्राचीन कालदेखि नै मनाउन लागिएको हुनसक्ने अनुमान गरिएको छ । नेपाली जनमानसमा यसलाई हर्षोल्लास र खेलकुद तथा मनोरञ्जनको पर्वका रूपमा मनाउने चलन छ । हाल पनि तिहारका समयमा देउसी, भैलो, पिङ र अन्य प्रकारका खेलकुद खेल्ने र रमाईलो गर्ने गरिन्छ (उही, पृ. ३८) ।

तिहारगीतमा चर्चा गरिने वलिराजा को हुन् ?

तिहारका समयमा भैलो र देउसी खेल खेलिन्छ । उक्त अवसरमा गाइने गीत भैलो र देउसीगीत हुन् । त्यस्ता गीतहरू लोकगीत अन्तर्गत पर्दछन् र तिनीहरूलाई तिहारका अवसरमा गाइने हुनाले तिहारगीत पनि भनिन्छ । देउसी प्रथा भने जुम्लाका राजा वलिराजले चलाएको पनि उल्लेख पाइन्छ (कोईराला, २०५२ः ३९) ।

तर यसका ठोस प्रमाण भने पाउन सकिएको छैन । यता तिहारगीत तथा देउसी गीतमा अन्य विषयबस्तुका साथमा वलिराजाको पनि चर्चा गर्ने गरिन्छ । तसर्थ देउसीगीत र वलिराजाका बीचमा सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । भारतमा भने तिहारको समयमा देउसी र भैलो खेल्ने चलन नपाइने हुँदा यसको चलन नेपालमा नै शुरूवात भएको अनुमान छ । नेपालमा देउसी पुरूषहरूले र भैलो महिलाले खेल्ने गर्दछन् ।

–  (जनता समाचार)

 

प्रतिक्रिया