अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

हारपछि पहिलोपटक सार्वजनिक रुपमा ट्रम्पको सम्बोधन, ‘आउँदो प्रशासन कुन हुनेछ कसलाई थाहा छ ?’

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते २१:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा अहिलेसम्म स्वीकार गर्नुभएको छैन । तर उहाँले आउँदो प्रशासन आफ्नो नुहने आशयको वक्तव्य भने सार्वजनिक रुपमा दिनुभएको छ । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर बोल्नुभएका ट्रम्पले आफ्नो प्रशासनले पुनः लकडाउन नगर्ने बताउनुभयो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा ट्रम्पले भन्नुभयोे, ‘यो प्रशासनले पुनः लकडाउन गर्ने छन् । आशा गरौँ‘ भविष्यमा जे भए पनि, कसलाई थाहा छ र कसको प्रशासन हुनेछ, मलाई लाग्छ समयले बताउने छ । तर म यो भन्न सक्छु कि अहिलेको प्रशासनले लकडाउन गर्ने छैन ।’

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर राष्ट्रपतिमा विजयी हुनुभएको छ । पराजित भएका ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाउनुभएको छ । ट्रम्पले विगतमा जस्तो कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिनुभएन ।

कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्याप स्पीड’ सफल भएको र चाँडै खोप वितरण हुने ट्रम्पले बताउनुभयो । आउँदो महिना (डिसेम्बर) देशभरका जोखिममा रहेका दशौँलाख नागरिकलाई खोप उपलब्ध हुने उहाको भनाई छ । तर न्यूयोर्क राज्यमा भने खोप उपलब्ध नहुने उहाँले स्पष्ट पार्नुभयो । त्यहाँका डेमोक्र्याटिक गभर्नर एन्ड्रयू कुआमोले खोपको सुरक्षालाई लिएर शंका व्यक्त गरेकाले उपलब्ध नगराउने ट्रम्पले बताउनुभयो ।

९० प्रतिशत सफल देखिएको फाइजर खोपका कारण विश्वभर आशा पलाएको छ । कुआमोले सो खोपबारे अध्ययन गर्नका लागि राज्यमा वैज्ञानिकहरुको टिम नै बताएका छन् । फाइजरसँगै अरु खोप पनि तयार हुने अवस्थामा छन् ।

ब्रिफिङ्गको क्रममा चुनावको नतिजाबारे सोझै केही नबोलेका ट्रम्पले आउँदो प्रशासन आफ्नो नहुने आशयको वक्तव्य दिनुभयो । जुन उहाँले नोभेम्बर ३ यता ट्वीट गरेर लगाइरहेका आरोपहरु भन्दा विपरित थियो । ट्रम्पले लगातार प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप सामाजिक सञ्जाल मार्फत लगाउँदै आउनुभएको छ ।

प्रतिक्रिया