अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

चुनाव हारेपछि म्यानमारको सेना समर्थित पार्टीद्वारा पुनः मतदानको माग

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:३४ मा प्रकाशित

म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाउँदै पुनः मतदानको माग गरेको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो। पार्टीले निर्वाचन आयोगमा उजुरी दिँदै पुनः निर्वाचन गराउनसमेत माग गरेको समाचारमा जनाइएको छ।

गत आइतबार मतदान भई मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारूढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ। नोवेल शान्ति पुरस्कार विजेता साङ साङ सुकी नेतृत्वको पार्टीले दोस्रो पाँच वर्षे कार्यकालका लागि जित हासिल गरेको हो।

सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गर्नु भएकी सुकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो। अहिलेको निर्वाचनले पनि सुचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ। असन्तुष्ट विपक्षी दलका कार्यकर्ताहरूले निर्वाचन आयोगअगाडि प्रदर्शन पनि गर्दै निर्वाचनको वैधता, निष्पक्षता, विश्वसनीयता र तटस्थतामा समेत प्रश्न उठाएका छन्।

म्यानमारको संसद ३२२ सिट ल्याएमा बहुमत हुने भएपनि सुकीको पार्टीले ३६१ सिटमा जित हासिल गरेको छ। सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ भने अन्य दलहरूले ४८ ठाउँबाट जितेका छन्। सन् २०१५ को निर्वाचनमा सुकीको पार्टी ३९० स्थानमा विजयी भएको थियो भने सेना समर्थित पार्टीले ४१ सिटमा विजय प्राप्त गरेको थियो।

म्यानमारमा साठी वर्षभन्दा बढी समय शासन गरेको सेनाको समर्थन प्राप्त दल युएसडीपीले पुनः निर्वाचनको माग गरेपछि त्रास उत्पन्न भएको छ। कोरोना भाइरस महामारीका कारण आयोगले व्यवस्था गरेको ’अग्रिम मतदान’मा अनियमितता भएको आरोप सेना समर्थित पार्टीले लगाएको छ। सेनाको सहभागितामा निर्वाचन आयोगले फेरि निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ।

निर्वाचन आयोगले भने प्रमुख प्रतिपक्षी दलले लगाएको आरोपको खण्डन गर्दै फेरि निर्वाचनको सम्भावना नरहेको स्पष्ट पारेको छ। निर्वाचन पर्यवेक्षण गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले पनि म्यानमारमा स्वतन्त्र र शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको भन्दै निर्वाचन आयोग र राजनीतिक दलहरूलाई बधाई दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू