अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

अमेरिकाले दियो नेपाललाई १०० थान भेन्टिलेटर

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:२८ मा प्रकाशित

कोभिड १९–विरुद्धको लडाइँमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने उहाँले बताउनुभयो । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको लडाइँका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो सङ्ख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेदेखि वितरण सुरु गरिएको बताउनुभयो ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई सात÷सात वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरू हरेक सरकारी अस्पताललाई दुई÷ दुई वटाका दरले वितरण गरिने उहाँले बताउनुभयो । भेन्टिलेटरका अतिरिक्त यूएसआईडीले देशका एक सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्शसमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू