अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

कांग्रेसले मंसिरभित्र क्रियाशिल सदस्यता टुंग्याउने, त्यसपछि मात्रै महाधिवेशन मिति तोकिने

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:२१ मा प्रकाशित

नेपाली कांग्रेसले मंसिर मसान्तभित्र क्रियाशिल सदस्यता टुंग्याउने भएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जिल्लाहरुलाई मंसिरभित्र नयाँ तथा नविकरण भएका क्रियाशिल सदस्यको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको हो। सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशनको कार्यतालिका भने शुक्रबारको बैठकले तय नगरेको जानकारी दिनुभयो ।

आउँदो फागुन ७–१० गतेका लागि तय भएको १४औँ महाधिवेशन कोरोना महामरीका कारण नहुने निश्चित भए पनि कांग्रेसले क्रियाशिल सदस्यता टुंग्याएपछि मात्र महाधिवेशनको नयाँ कार्यतालिका र मिति तय गर्ने भएको केन्द्रीय सदस्य जीवन परियारले बताउनुभयो ।

केन्द्रीय कार्यसमिति बैठकले समानुपातिक सांसद सूर्यबादुर केसीको स्थानमा मोहनप्रसाद पाण्डेलाई नियुक्त गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। केसीको केही दिनअघि निधन भएपछि पार्टीले निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको बन्दसूचीको क्रम संख्या १२ मा रहेका पाण्डेलाई खस आर्य समूहबाट सांसद बनाउने निर्णय गरेको हो।

यस्तै बैठकले राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनील थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको छ। पूर्वसहमतिअनुसार थापालाई उक्त जिम्मेवारी दिएको हो। कांग्रेस उनीसँगै आएका अरु ६ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू