अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

प्रा.डा.खगेन्द्र लुइटेलसँग रिसइबी साँधेर चरित्रहत्या गर्ने दुराशयको पर्दाफास

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते २१:३२ मा प्रकाशित

एउटा अनलाइनमा ‘प्रा.डा.खगेन्द्र लुइटेलको बौद्धिक चोरीमा डा. दैवकी देवीको पत्र: ‘म जस्ता पीडितहरू अरू कति होलान् ?’ शीर्षकको समाचार प्रकाशित भएको देखेपछि हामीलाई खुल्दुली पैदा भयो र यसबारे सत्यतथ्य बुझ्न गौहाटी विश्वविद्यालयमा सम्पर्क गर्न खोज्दा एक दशक पहिले सञ्चालित नेपाली एमए कार्यक्रम तीन वर्ष पहिले नै बन्द भइसकेको रहेछ । त्यति बेला नेपाली एमए कार्यक्रम दूर तथा खुला शिक्षाका रूपमा चलेको रहेछ । त्यहाँ पहिले पनि नेपाली विभाग नै रहेनछ भने विभागीय प्रमुख हुने कुरै भएन । त्यहाँ नेपाली विषयको कुनै दरबन्दीसमेत रहेनछ । त्यहाँ नेपाली विषयको कोही पनि नभएकाले नेपाली एमए कार्यक्रमको संयोजन गर्ने जिम्मा आरजी बरुवा कलेजकी हिन्दी विषयकी डा. शान्ति थापालाई दिइएको रहेछ । यति कुरा बुझेपछि हामीले असमबासी केही नेपालीहरूसँग सम्पर्क गरी यसबारे सत्यतथ्य रूपमा विस्तृत रिपोर्ट तयार पार्न आग्रह गर्यौँ । सो रिपोर्ट हेर्दा विश्वविद्यालय स्रोतको हवाला दिएर लेखिएको भनिएका सबै कुरा आधारहीन र भ्रामक भएको पुष्टि भएको छ । यी कुरा नेपाली भाषा बचाउ अभियानका नेतृत्वकर्ता प्रा.डा.खगेन्द्र लुइटेलले अहिले इम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्छ भनिरहेका बेला उहाँसँग पुरानो रिसइबी साँध्ने र चरित्रहत्या गर्ने दुराशयबाट लेखिएका रहेछन् भन्ने निष्कर्षमा हामी पुग्यौँ । जिम्मेवार व्यक्तिबाट भाषासम्बन्धी रिसइबी यस्तो घटिया पाराले साँधेर चरित्रहत्याको दुष्प्रयास गर्नु निन्दनीय कार्य हो ।
असमबासी नेपालीहरूका तर्फबाट पठाइएको सत्यतथ्य रिपोर्ट जस्ताको तस्तै प्रस्तुत गरिएको छ:

अहिले नेपालमा ड. खगेन्द्र लुइटेलज्यूलाई बदनाम गर्न अनेक थरी कुकृत्य हुन थालेको खबर सुन्नमा आएका छन् । उहाँ भाषा आन्दोलनको नेतृत्व गरिरहेको हामीलाई थाहा छ र त्यसमा हाम्रो समर्थन पनि छ । उहाँले नेपाल अकादेमीबाट शब्दकोश खारेज गराएको पनि हामीलाई जानकारी छ । नेपालबाहिरका हामी नेपाली भाषा भनेर मरिमेटेका छौँ तर नेपालभित्र किन किचलो गरेको बुझ्न बहुत कठिन भो । नेपालका अरू धेरै कुरा हामी जान्दैनौँ । तर लुइटेल सरको दुर्नाम हुने गरी गौहाटी विश्वविद्यालय र त्यससँग जोडिएको भनिएकी असमकै दैवकी देवीका नामबाट भनिएका कुराबारे विभिन्नतिरबाट सोधनी हुँदा यसको वास्तविकता भन्नैपर्ने बाध्यतामा हामी पुग्यौँ ।

यसका लागि हामीले सर्वप्रथम ड. लुइटेलज्यूलाई नै सम्पर्क गर्यौँ । उहाँले ‘विद्यार्थीलाई बिगार्ने काम मैले अहिलेसम्म गरेको छैन र गर्दिन पनि, त्यसैले अहिले यस विषयमा म केही पनि बोल्दिन, यसमा भनिएका कुरा सारासर झुट हुन्, यो यतैका केही व्यक्तिले प्रायोजित रूपमा गरिएको दुष्कर्म हो, मैले बोल्नुपर्यो भने धेरै कुरा बाहिर आउँछन्’ भन्नुभयो ।

यही कुरा लीला लुइटेल गुरुमासमक्ष राख्दा ‘विदेशको एउटा प्रतिष्ठित विश्वविद्यालयलाई यहाँका केही व्यक्तिले अनावश्यक विवादमा ल्याउन खोजे । त्यसको आन्तरिक लेखाप्रशासनबारे म एउटा विदेशीले टिप्पणी गरिहाल्न उपयुक्त नदेखिएकाले केही समय नबोलौँ, बोल्नै परे पछि बोलौँला’भन्ने उत्तर मिल्यो ।

उहाँहरूले यति उत्तम विचार हामीसमक्ष राखेपछि हामी अनलाइन मिटिङ गरी एकै ठाउँमा जुट्यौँ र यसबारे यथार्थ जानकारी दिनुपर्छ भन्ने निधो गर्यौँ । यसबारे पहिले दैवकी देवीलाई नै सोधौँ न त भनी हामीले बहुत पटक फोन गर्यौँ । तर कहिल्यै पनि रेस्पोन्स भएन । त्यसपछि हामीले दैवकीका पति घनश्याम तिम्सिनालाई उही रफ्तारमा फोन लगायौँ, उहाँले पनि रेस्पोन्स गर्नुभएन । तैपनि काल ब्याक आइहाल्छ कि भनेर धेरै दिनसम्म पर्खियौँ । तर कुनै पनि रेस्पोन्स आएन र हामी नै यसको यथार्थ लेख्न अघि बढेका हौँ ।

डा. खगेन्द्र लुइटेल सर २०१० मा यता आउनुभन्दा अगि नै असम र असमबाहिरका कतिपय व्यक्तिले गौहाटी विश्वविद्यालयमा नेपालीको पाठ्यक्रम तयार पार्न गोष्ठी गरेको, किताब लेख्ने भनी पहिले नै एडभान्स लिएर गएको हामी असमबासी हरेक नेपालीले जानेकै बात हो । सुरुमा नेपालबाट लुइटेल सरसँगै केही सरहरू पनि आउनु भएको थ्यो तर काम केही भएन । असमबाहिरका कतिपय व्यक्तिहरूले यहाँ यो कार्यक्रम सफल नहोस् भनी अभिलाषा राखेका थिए औ असमभित्रै पनि संस्थागत र व्यक्तिगत इन्ट्रेस्टका कारण खिचातानी गर्दागर्दै यो कार्यक्रम नै सञ्चालन नहुने गरी इलेभेन्थ आवरमा पुगिसकेको थियो । किताब लेख्न भनी एडभान्स लिएका व्यक्ति पनि गायब भए । यस्तो स्थितिमा हामीले परामर्श गरेर लुइटेल सरलाई अनुरोध गरी फोन गर्यौँ, मेल पठायौँ । विश्वविद्यालयले पनि मेल पठायो । तर कतिले एडभान्स लिएर पनि काम नगरी धोका दिएको र समय पनि अन्तिम भएको कुरा उहाँलाई पहिले नै थाहा लागिसकेको रहेछ । उहाँले त्यस्तो झमेलामा आउन नसक्ने जानकारी दिनुभयो ।

लुइटेल सरलाई ल्याउन हामीले धेरै पटक फोन गर्यौँ तर त्यसबाट पनि केही हात लागेन । भएन अब भनी काठमाडौँमा रहनुहुने असमका हाम्रा आदरणीयहरूलाई उहाँका घरमै गएर भेटी हाम्रो निवेदन राखिदिन पनि लगायौँ । हेमचन्द्र सरले पनि फोन र इमेल गर्नुभयो । त्यसपछि नेपाली साहित्य परिषद्ले यहाँका नेपाली समुदायको हवाला दिएर अर्को इमेल पठायो । यसपछि मात्र उहाँ काम गरिदिन राजी हुनुभएको हो ।

लीला लुइटेललाई लीला ढकाल भएकै बेलादेखि हामी असमवासी नेपालीले जानेका छौँ । उनका शोधमूलक लेखहरू १९९३–९४ देखि नै यताका अनेक पत्रिकामा प्रकाशन भएको देख्ने पढ्ने हामी सग्लै छौँ । तीमध्ये कतिपय हामीलाई पढ्न पढाउन बहुत सहयोग मिल्ने हुनाले हामीमध्ये धेरैले जेरक्स गरेर राखेका छौँ र कतिपय त विद्यार्थीलाई ह्यान्सआउटका रूपमा बाँडेका पनि थियौँ । अत्यन्त थोरै समयमा काम सक्नुपर्ने हुनाले यताबारे जानकारी राख्ने लीला लुइटेल भएको ठहर गरी उहाँलाई पनि अनुरोध गरिएको हो ।

उहाँहरू दुवैजना मिलेर रातारात किताब तयार गरेर पठाइदिनुभयो । पहिले नै एडभान्स लिएका व्यक्तिहरू गायब भएकाले तिनले जिम्मा लिएका किताबका युनिट पनि उहाँहरूले नै तयार गरिदिनुभयो । ती किताब संयोजन गर्ने बेलामा यहाँको लेखाले अर्को झन्झट तेर्साइदिएछ । विश्वविद्यालयले लेखाको हिसाबकिताब दुरुस्त देखाउन पहिले नै एडभान्स लिएर गएका व्यक्तिहरूको नाम हटाएर उहाँहरूको नाममा राखेर पैसा दिन नसकिने हुनाले एउटा समस्याको पहाडै खडा भयो । यो समस्या उहाँहरूसमक्ष राख्दा ‘किताब छाप्न ढिलो भयो भने कार्यक्रमलाई नै असर गर्छ, त्यसैले हामीले लेखेका युनिटहरू पनि उनीहरूकै नाममा राखिदिएर किताब छाप्नु, लेखाको नियमअनुसर गर्नु हामीलाई पैसा पनि दिनुपर्दैन’ भन्ने अनुमति उहाँहरूले दिनुभयो । यसरी मिलाउँदा लुइटेल सरले लेखेका र पहिले नै उहाँका किताब र पत्रिकामा छापिएका रचना पनि अरू धेरैका नाममा परेका छन् । लुइटेल सरले पहिले नै आफ्नो किताब र पत्रिकामा छपाएका रचना युनिटकै रूपमा दैवकी देवी र उनका पति घनश्याम तिम्सिनाका नाममा समेत राखिएका छन् । मिलाउँदा कतिपय युनिट आधा पनि गरिएका छन् । आफूले लेखेका रचना अरूका नाममा परेका युनिटको पैसा पनि उहाँहरूले लिन मान्नु भएन । उहाँहरूका रचना ककसका नाममा छापिएका छन् सबै जानकारी चाहिए दिउँला ।

यस्तो महान् त्याग कसैले गर्न सक्छ ? उहाँहरूले यसरी दुख नगरिदिनु भएको भए यो कार्यक्रम नै सञ्चालन हुने थिएन । पहिले नै कोलाप्स भइसक्ने थियो । नेपाली भाषा र साहित्यका लागि उहाँहरूले देखाएको यस्तो महान् त्याग र उदार भावना असमबासीहरूले कहिल्यै पनि भुल्ने छैनन् ।

विश्वविद्यालयले दुइटै वर्षको कार्यक्रमको उद्घाटन डा लुइटेलबाटै गराएको हो । त्यतिखेर उहाँलाई नेपाली साहित्य परिषद्, असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसंघ, विभिन्न विद्यार्थी सङ्गठनलगायत विभिन्न कलेजले उहाँले दिएको अवदानको कदर गर्दै अभिनन्दन जनाएका थिए । यहाँ यति अभिनन्दन अरू कसैले पाएका छैनन् ।

 

यहाँ यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि नेपालबाट यता लेखकहरू त्यति आएका थिएनन् । यहाँ नेपाली पाठ्यक्रम लागु भइसकेपछि धेरै लेखकहरू आउन थाले । यसै क्रममा नेपाल अकादेमीबाट कुलपति गङ्गा उप्रेती शब्दकोशका लागि शब्द सङ्कलन गर्न भनी यता आउनु भएको थियो । त्यति बेला पनि उहाँले खगेन्द्र लुइटेलका बारेमा चासो राखेर धेरै कुरा गर्नुभएको थियो र नेपाली एमएका ती पुस्तक खोजी पनि गर्नुभएको थियो तर विश्वविद्यालयले ती किताब विद्यार्थीका लागि मात्र वितरण गर्ने भएकाले जेरक्स गरेर उहाँलाई उपलब्ध गराइदिएको कुरा थाहा लागेको छ । त्यति बेला उहाँले यताका धेरैलाई अकादेमीबाट प्रोजेक्ट दिलाइदिने, किताब छापिदिने आश्वासन दिएर जानुभएको थियो । त्यति बेलै उहाँले यताबाट केहीलाई साथै लगेर अकादेमीको प्रोजेक्ट दिएर पठाउनु भएको पनि थियो ।

एक पटक भानु जयन्ती मनाउने भनेर नेपालबाट सुधा त्रिपाठीसहितको एउटा टोली पनि आएको थियो । उहाँहरूको गाइड बनेर उताबाटै यतैको एउटा मान्छे सँगै आएको थ्यो । उसले यताबाट पढ्न गएका चेलीहरूलाई छात्रवृत्ति पाउने बेलामा तिमीहरू नेपालकै नागरिक हौ भनेर उजुरी दिएर रुवाइरहेको रहेछ । ती चेलीहरू निराश भएर पढाइ छोडेर फर्कन आँटेको थाहा पाएर यताबाट उनीहरूका अभिभावकले फोन गरेर अनुरोध गरेपछि ती चेलीलाई लुइटेल सरले संरक्षण दिएको कुरा तिनका अभिभावकबाट थाहा लागेको हो । त्यसले पहिलै बुझाइसकेको अर्काको थेसिस सारेर बुझाएको थाहा पाएर लुइटेल सरले पुनः उसलाई थेसिस लेख्न लगाएकाले ऊ लुइटेल सरसँग बम भएर उहाँको विरोध गर्दै तिनीहरूलाई लिएर आएको कुरा थाहा लाग्यो । असममा लुइटेल सरका थुप्रै छात्रछात्राहरू छन् । उहाँले यताबाट गएका सबैलाई अभिभावकको रूपमा ढाडस दिनुहुन्थ्यो ।

नेपालबाट आएको साहित्यकारको टोली भनी हामी बडो हर्षका साथ उहाँहरूलाई भेट्न गएका थियौँ र असमका विभिन्न ठाउँमा उहाँहरूको साथ दिने हाम्रो योजना थियो । तर त्यस अनौपचारिक भेटमा उहाँहरूले लुइटेल सरले यता गरेका कामको खोजीनिती गरी आलोचना मात्र गरेको हामीलाई निको लागेन र अन्य ठाउँमा साथ दिन मन लागेन ।

दैवकी देवीको भनिएको पत्रमा ‘सन् २००८ मा गुवाहाटी विश्वविद्यालयमा दूर तथा खुला शिक्षा अध्ययन संस्थानको नेपाली एमए नेपाली तेस्रो पत्रको पाठ्यपुस्तक लेखनमा विश्वविद्यालयले खगेन्द्र सरसँगै मलाई पनि जिम्मेवारी दिएको थियो । त्यसको संयोजक खगेन्द्रप्रसाद लुइटेल सर हुनुहुन्थ्यो । पाठ्यपुस्तक लेखनका क्रममा मलाई शीर्षक ‘४.३ नव सापकोटा र उनका निर्धारित कविताको विश्लेषण’ लगायतका लेखनको जिम्मेवारी दिइएको थियो । सो अनुसर मैले उक्त पाठ्यपुस्तकको अंश लेखी संयोजक रहेका लुइटेल सरलाई दिएकी थिएँ । पछि पाठ्यपुस्तक छापिएर आउँदा मैले लेखेको उक्त अंश निज लुइटेलकी श्रीमती लीला लुइटेलका नाममा प्रकाशित भएर आयो’ भन्ने कुरा सफेद झुट हो ।

२००८ मा यो कार्यक्रम सुरु नै भएको थिएन, २०१० मा मात्र सुरु भएको हो । विश्वविद्यालयले २०१० मा मात्र जिम्मेवारी दिएको हो र लुइटेल सर त्यसपछि मात्र संलग्न हुनु भएको हो । कार्यक्रम नै सुरु नभई विश्वविद्यालयले दैवकी देवीलाई चाहिँ २००८ मा नै जिम्मेवारी कसरी दियो ? फेरि एउटै व्यक्तिको काव्य प्रवृत्ति एक जनाले र निर्धारित कविताको विश्लेषण अर्कैले लेख्छ ? लुइटेल सर यसको स्पेसल कोर्स एड्भाइजर हो । संयोजक ड. शान्ति थापा हो । यो कार्यक्रममा लुइटेल सर संलग्न हुनु अगावै नव सापकोटाबारे लेखिएको लेख मिर्मिरे पत्रिकामा र समकालीन साहित्य अनलाइनमा पहिले नै प्रकाशन भएको र लुइटेल सर यता आउनुअगि नै हामीले जेरक्स गरेर यहाँका साथीहरूलाई वितरण गरिसकेका हौँ । यस्तो फरेबी कुरा दैवकीका नामबाट नेपालबाटै लेखिएको वा लेख्न लगाइएको कुरा भाषाबाट पनि स्पष्ट छ ।

दैवकी देवीले त्यति बेला केही नभन्नु तर यति पछि आएर अहिले कार्यक्रम नै बन्द भइसकेपछि नचाहिँदो आरोप लगाउनुमा ठुलो राज रहेको देखिन्छ । नेपाल अकादेमीको कुलपति गङ्गा उप्रेती दैवकी देवीको बढाउ हुनुहुन्छ अर्थात् दैवकी उहाँकी सालीकी छोरी हुन् । यहाँका पुरै किताब लेख्ने र आफूले लेखेका रचनासमेत अरूका नाममा छाप्दा केही नभन्ने र पैसा पनि नलिने लुइटेल सरले श्रीमतीका नाममा दैवकीको रचना राख्नुहुन्छ ? आफ्ना रचना अरूका नाममा छाप्न अनुमति दिने लुइटेल सर र म्याडमलाई बढाउका लैलैमा लागेर झुटो आरोप लाउँदा थोरै पनि सरम लागेन दैवकीलाई ? दैवकीले एक पटक कामाख्यामाईलाई सम्झेर बोलुन् त । नेपाल अकादेमीको कुलपति जस्तो व्यक्ति गङ्गा उप्रेतीजीले लुइटेल सरसँग भाषा आन्दोलनको रिसिबीले आफ्नी भतिजीका नामबाट यस्तो घृणित काम गर्न कसरी सकेको होला ? ताजुप लागेको छ ।

लुइटेल सरले आफ्नो लेख श्रीमतीका नाममा छापिदिएको भनेर चित्त दुखेको कुरा गर्ने दैवकीले लुइटेल सर दरङ कलेजमा पढाउन आएका बेला (यहाँ पनि उहाँले निःशुल्क पढाउनु भएको थियो) उहाँको अवदानका लागि आयोजित अभिनन्दन कार्यक्रममा उहाँको त्यत्रो प्रशंसा किन गरेकी नि ? पिएचडीका बेला सहयोग माग्न लुइटेल सरकहाँ किन गएकी नि ? थेसिसमा लुइटेल सरलाई यसरी किन कृतज्ञता दिएको नि ?

यसरी खोलो तरेपछि लौरो बिर्सिएर अर्काको स्वार्थका लागि प्रयोग हुँदा आफ्नो प्रतिष्ठा कहाँ पुग्छ भनी दैवकीले किन नबुझेको ?
दैवकीको पिएचडीको थेसिस भोजपुरतिरबाट सरुवा भएर कीर्तिपुर गएका सरले लेखिदिएको हल्ला यता व्यापक छ । आफ्नो थेसिससमेत आफू लेख्न नसक्ने र अरूलाई लेखाउने दैवकीले यस्ता नचाहिँदा कुरा गर्न शोभा दिन्छ ? पिएचडी गर्नु अघि दैवकीका कति लेख प्रकाशमा आएका थिए र गरिसकेपछि कति आएका छन् भन्ने कुरा त घामजस्तै छर्लङ्ग छ । लीला लुइटेलको यताका बारेका लेखन नजान्ने कोही पनि छैन ।

नेपालको एउटा फरेबी पत्रकारले लेखेको कुराको वास्तविकता यस प्रकार छ:
ती फरेबी पत्रकारले लेखेको ‘विश्वविद्यालयले दिएको जानकारी अनुसर गुवाहाटी विश्वविद्यालयको नेपाली पाठ्यपुस्तक लेखनको नेतृत्व खगेन्द्रप्रसाद लुइटेलले गरेका र त्यसमा श्रीमतीलाई विज्ञ बनाई पाठ्यपुस्तक लेखनमा समावेश गरी माथि उल्लिखित दैवकी देवीले लेखेको पाठ्यांश लीलाका नाममा छपाई बौद्धिक ठगी गर्नुका साथै लीलाका कृतिहरू समेत दम्पती मिलेर पाठ्यपुस्तकमा राखिएको हो’ भन्ने बयानको खण्डन यस्तो छ:

नेपाली पाठ्यपुस्तक लेखनको नेतृत्व लुइटेल सरले गरेको हो तर ‘श्रीमतीलाई विज्ञ बनाई पाठ्यपुस्तक लेखनमा समावेश गरिएको’ भन्ने बुँदामा हामी बहुत ठुलो विमति राख्छा । लीला लुइटेलको यताका बारेको लेखन सबैलाई थाहा छ । लीला लुइटेललाई लीला ढकाल हुँदैदेखि उनका शोधमूलक लेखहरू १९९३–९४ देखि नै यताका बिन्दु, हाम्रो ध्वनि, सुमन, युगान्तर, प्रक्रिया, वसुधा, हिमाली बेला, परदेशीजस्ता यताका अनेक पत्रिकामा प्रकाशन भएको देख्ने हामी सग्लै छौँ । तीमध्ये कतिपय हामीलाई पढ्न पढाउन बहुत सहयोग मिल्ने हुनाले हामीमध्ये धेरैले जेरक्स गरेर राखेका छौँ र कतिपय त विद्यार्थीलाई ह्यान्डसआउटका रूपमा बाँडेका पनि थियौँ । उहाँलाई असमबासी नेपाली र विश्वविद्यालयले विशेष आग्रह गरेर बोलाएको हो, लुइटेल सरले ल्याएको होइन । विश्वविद्यालयले दिएको जानकारी अनुसर भनेपछि पाठकजनले विश्वास गर्छन् भन्ने भ्रममा ती फरेबी पत्रकार रहेको देखियो । तर त्यो कार्यक्रम पहिले नै क्यान्सिल भइसकेको तिनलाई थाहा भएनछ ।

‘लीला लुइटेललाई नेपालको कुनै क्याम्पसमा पढाइरहेको देखाउनलाई बी क्याम्पस, काठमाडौँ लेखी विश्वविद्यालयलाई गुमराहमा पारेको’ भन्ने कुरा पनि झुट हो । उहाँसँग विश्वविद्यालयले कुनै बायोडाटा मागेर बोलाएको होइन । सबै किताबका युनिट पहिले नै एडभान्स लिएर पनि नलेखेका विभिन्न लेखकका नाममा समायोजन गरी फर्मेट बनाएर किताब प्रेस पठाउनु ढिलाइ सकेको थियो । उहाँ भक्तपुर क्याम्पसमा पढाउने सुनेकाले बी क्याम्पस लेखिएको हो । पछि किताबमा छापिएर आएको देखेपछि लीला लुइटेलले सम्बन्धित अधिकारीसमक्ष आफ्नाबारे गलत लेखिएको जानकारी गराएपछि अर्को संस्करणमा मिलाउने भनिएकोमा ती कुनै पनि किताबले अर्को संस्करण आउनै नपाई अहिले यो कार्यक्रम नै बन्द भइसकेको छ ।

‘विश्वविद्यालयको स्रोतले भन्यो– हामीलाई उहाँले प्राध्यापक हुँ भनेर लेख्न लगाउनुभयो तर उहाँ त्यस बेला प्राध्यापक हुनुहुँदो रहेनछ’ भन्ने भनाइ देख्दा हामीलाई ती फरेबी पत्रकारप्रति दया उठेको छ । यस्तो लेख्ने पत्रकार कसैबाट परिचालित भई झुटको खेती गर्न बडो माहिर रहेछन् भन्ने बोध भएको छ । यतातिर कालेजमा पढाउनेलाई प्रो.÷प्रा.भन्छन् र लेख्छन् भन्नेसमेत भेउ नपाउनेले गरेको मिथ्या बात कसले विश्वास गर्छ ? विश्वविद्यालयको स्रोत वा विश्वविद्यालयको आधिकारिक स्रोत भनेपछि पाठकजनले विश्वास गर्छन् भन्ने भ्रममा ती पत्रकार रहेको देखियो । तर त्यो कार्यक्रम पहिले नै क्यान्सिल भइसकेकाले तिनले भनेको विश्वविद्यालयको स्रोतचाहिँ के हो ? पुस्तकको जुन पेजमा प्रो. लेखिएको छ त्यो विश्वविद्यालयले लेख्ने पेज हो लुइटेल सरले लेख्ने होइन भन्ने पनि नबुझ्ने कसरी पत्रकार भएछन् ? अर्काले लेखिदिएको जे पायो त्यही छाप्नु पत्रकारको धर्म हो ? दैवकी देवी र उनका लोग्ने घनश्याम तिम्सिना कहिले प्राध्यापक भए त ? तिनलाई ज्ञान होस् भनी तिनका नाम अघि प्रा.लेखेको प्रमाण हामी उनलाई देखाइदिन्छौँ:

‘प्रसिद्ध साहित्यकार नव सापकोटासँग बुझ्दा उहाँले मेरा बारेमा दैवकी देवीले नै लेख्नुभएको तर पाठ्यपुस्तकमा चाहिँ लीलाको नाम छापिएर आएको कुरा सत्य भएको बताउनुभयो’ भन्ने वाक्य लेखेर ती पत्रकारले एउटा बहुत ठुलो अपराध गरेका छन् । हामीले हाम्रा आदरणीय कवि नव सापकोटाज्यूसँग बुझ्दा मेराबारेको यो लेख पहिले नै नेपालको मिर्मिरे पत्रिकामा छापिएको र पछि त्यही किताबमा राखिएको हो, अरू कुरा आफूलाई थाहा नभएको र नेपालबाट कसैले पनि यसबारे कुरा नगरेको र नसोधेको कुरा बताउनुहुन्छ ।

‘गुवाहाटी विश्वविद्यालयको नेपाली विभागका अनुसर दूर तथा खुला शिक्षा अध्ययन संस्थानको नेपाली एम. ए.का विभिन्न पत्रका पाठ्यपुस्तकमा समावेश भएका सामग्री अनधिकृत रूपमा स्वयं खगेन्द्र लुइटेलले नेपालको पैरवी प्रकाशनबाट प्रकाशित भएका नाट्य समालोचना, निबन्ध समालोचना र काव्य समालोचना नामका कृतिमा हुबहु राखी प्रकाशन गरेर बौद्धिक बेइमानी गर्नुभएको विषयमा यसभन्दा पहिला नै लिखित जानकारी आएको छ । लुइटेलबाट विश्वविद्यालय नै ठगिएको र तत्कालीन विभाग प्रमुखले दुःख व्यक्त गरिसकेको जानकारी दिएको छ ।’ भन्ने कुरा त झनै मिथ्या हो । नेपाली एमएका विभिन्न पत्रका पाठ्यपुस्तक छापिनुअघि नै लुइटेल सरका यी किताब छापिइसकेका र यहाँका पाठ्यपुस्तकमा ती किताब सन्दर्भ सामग्रीका रूपमा राखिएका छन् । उहाँ यता आउँदा उपहारमा हामीले पाएका हौँ । हेर्नुहोस् फोटो

यहाँका पाठ्यसामग्री र लुइटेल सरका ती पुस्तकको प्रकाशन मिति हेरे भइजान्छ नि । पहिला नै लिखित जानकारी कहाँ आयो र दुख व्यक्त गर्ने विभाग प्रमुख को हो ? यहाँ विभाग र विभाग प्रमुखको व्यवस्थै नभएको स्थितिमा यस्ता झुटा कुरा लेख्नु कसैलाई बदनाम गर्नका लागि गरिएको जालसाजी हो भन्ने पुष्टि हुन्छ ।

‘लुइटेलबाट विश्वविद्यालय नै ठगिएको र तत्कालीन विभाग प्रमुखले दुःख व्यक्त गरिसकेको जानकारी दिएको छ’ भन्ने अर्को झुटले यी फरेबी पत्रकार समाजका नजरबाट कहिल्यै उठ्न नसक्ने गरी गिरेका छन् । यो कुरा तिनलाई थाहा लगाइदिने विभाग प्रमुखको नाम के हो उनी बताउन सक्छन् ? यस विश्वविद्यालयमा न कुनै नेपाली विभाग थियो, न कुनै विभाग प्रमुख । यो दूर तथा खुला शिक्षा कार्यक्रम भएकाले शिक्षकको दरबन्दी त थिएन । त्यसमा पनि अहिले यताकै आन्तरिक कारणले यो कार्यक्रम नै बन्द भैसकेको छ ।

विश्वविद्यालयको नामसम्म सही लेख्न नसकेको देख्दा यो जालसाजी यताका मान्छेले होइन नेपालकै मान्छेले गरेको जोकोहीले बुझ्छ । यस्ता फरेबी कुरामा यताकी मान्छेको नाम मुछिएकोमा हामीलाई खेद छ । लुइटेल सरले विद्यार्थीलाई बिगार्ने काम गर्दिन र यस विषयमा केही पनि बोल्दिन भन्दाभन्दै पनि हामीले सहन नसकेर सत्यतथ्य प्रस्तुत गर्यौँ । यसका लागि असमबासी नेपालीका तर्फबाट ड.खगेन्द्र लुइटेल सरसमक्ष हामी क्षमा माग्छौँ ।

असमबासी नेपाली भाषा प्रेमीका तर्फबाट

नोट: असमबासी नेपालीका तर्फबाट यो रिपोर्ट हामीलाई प्राप्त भएपछि हामीले त्यसमा नाम उल्लेख भएका कवि नव सापकोटालाई इमेलमार्फत सम्पर्क गर्यौँ । उहाँले हामीलाई हाम्रो इमेलको जबाफ पिडिएफ फाइलमा पठाउनुभएको छ । प्रस्तुत छ उहाँले हामीलाई पठाउनुभएको इमेल जबाफको पिडिएफ:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू