अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 13:48

वैदिक तथा पौराणिक मान्यतासहित छठ पर्वको महत्त्व र विशेषता

राजेन्द्र खनाल गुरु २०७७ कार्तिक २७ गते ८:४० मा प्रकाशित

यो छठ पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रूपमा धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यो एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । षष्ठी तिथिमा मानिने हुनाले यसलाई छठ भनिएको हो । छठ भनेको छैँटो तिथि अर्थात् छ अङ्क को प्रतिकात्मकस्वरुप यसलाई यस्तो नाम दिइएको हो ।

यो पर्व चतुर्थीको दिनदेखि सुरु भए तापनि षष्ठी तिथिमा अस्ताउन लाग्दाखेरिको सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि त्यो रातभर जाग्राम बसी भोलिपल्ट सप्तमीको सूर्योदयमा सूर्यको पूजा गरी पुनः सूर्यलाई अर्घ्य दिएपछि मात्र यो व्रतको समापन गरिन्छ । अघि त्रेता युगमा भगवान् श्रीरामले सीतालाई अयोध्यामा लिएर आउँदा सरयू नदीमा स्नान गरी यहीँ कार्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यास्तलाई अर्घ्य दिएर यो व्रतको सुरुआत भएको मानिन्छ । सूर्यनारायणको उत्पत्तिको विषयमा विभिन्न पौराणिक ग्रन्थहरूलाई आधार मान्दा पालनकर्ता विष्णुको नाभिबाट उम्रिएको कमलको फूलमाथि आविर्भाव हुनु भएका सृष्टिकर्ता ब्रह्माजीको मनबाट मरीचि ऋषि र उनीबाट कश्यप ऋषिको जन्म भयो ।

कश्यप र अदितिबाट विवश्वान सूर्यको जन्म भएको कुरा पौराणिक कथाहरूमा पाइन्छ । उहाँ मृत अण्डमा प्रवेश गरी हिरण्यमय अर्थात् ज्योतिर्मय भई विश्व ब्रह्माण्डमा प्रकाशित भएकोले साक्षात् नारायणस्वरुप मानेर पूजा गरिन्छ । सूर्यका १२ वटा नाम छन् । तिनै नामका आधारमा महिनाका नामहरू बनेका छन् । सूर्यकी पत्नीको नाम संज्ञा हो । उनी विश्वकर्माकी छोरी हुन् । उनीबाट छाया र सावर्णी मनुको र तपति नाम भएकी एक पुत्रीको जन्म भएको थियो । ब्रह्माण्डमा रहेका ९ ग्रहहरूमध्ये सूर्य प्रमुख ग्रहको रूपमा मानिन्छन् । सबै ग्रहले सूर्यको परिक्रमा गरिरहेका हुन्छन् जसका आधारमा हामी समयको गणना गर्दछौँ । सूर्यका १२ वटा नामका आधारमा सूर्यलाई पूजा आराधना गर्न सकिन्छ । ती हुन् – *

ॐ सूर्यनारायणाय नमः ।
ॐ भास्कराय नमः।
ॐ रवये नमः ।
ॐ मित्राय नमः ।
ॐ भानवे नमः
ॐ खगाय नमः ।
ॐ पुष्णे नमः ।
ॐ मारिचाय नमः ।
ॐ आदित्याय नमः ।
ॐ सावित्रे नमः ।
ॐ आर्काय नमः ।
ॐ हिरण्यगर्भाय नमः ।
यी समेत गरी सूर्यका अन्य १०८ वटा नामहरू पनि छन्, सूर्य प्रत्यक्ष आँखाले देख्न र दर्शन गर्न र अनुभव गर्न सकिने देवता हुन् ।

हामीले दिनदिनै उच्चारण गर्ने सात वटा बारका नाम पनि सात वटा ग्रहकै नामहरू हुन् । सूर्यको बारलाई हामी रबिवार अर्थात् आइतबार भन्दछौँ ।

सूर्यलाई अर्घ्य चढाउने मन्त्र :
एहिसूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पयमां भक्त्या गृहणार्घ्यं दिवाकर : ! ।।
ध्यान तथा पूजा गर्दा भन्ने मन्त्र :
रक्ताम्बुजासनमशेषगुणैकसिन्धुं
भानुं समस्त जगतामधिपं भजामि ।
पद्मद्वयाबरान् दधतं कराब्जै र्माणिक्यमौलिमरुणांगरुचिं त्रिनेत्रम् ।।

विशेष गरेर तराईवासीले कात्तिक शुक्ल पक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको शुक्ल चतुर्थीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछा मासु, लसुन, प्याज जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गन्ने गर्छन् ।

पञ्चमी तिथि दोस्रो दिनलाई ‘खरना’ संरक्षण अर्थात् पापको क्षय भनिन्छ । खरना छठ पर्वको दोस्रो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रूपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् ।

छठ परमेश्वरीका नामले बेलुका पूजा गरी सोही खीर नैवेद्य केराको पातमा राखी चढाएर सबैलाई प्रसादको रूपमा बाँड्ने चलन छ । तर त्यो प्रसाद ग्रहण गर्ने व्यक्ति नुन खाएको हुनु हुँदैन । व्रत बस्ने पुरुष होस् या नारी जो भए पनि उसले छठको दिन पुरै उपबास (Fasting) बस्नु पर्दछ, त्यस दिन ठकुवा ( सक्खर हालेर घ्यूमा गहुँको पीठो हाली पकाइएको एक प्रकारको रोटी) बनाई चढाउनु पर्दछ । यो दिन ज्यादै पवित्र भई पूजा गर्नु पर्छ । ठकुवा बनाउने गहुँलाई पखालेर पिसेर सुकाएर सफा कपडा फेरेर मात्र गर्नु पर्छ । छठ पूजा गर्ने व्रतीले धोएको भए पनि रजस्वला हुँदा वा अन्य अपवित्र अवस्थामा लगाइएका कपडाहरू प्रयोग गर्नु हुँदैन । चोखो अर्थात् नयाँ लुगा लगाउनु पर्छ कालो कलरको लुगा पनि लगाउनु हुँदैन । चोखोनितो पुगेन, पवित्रतामा कुनै कमी भएमा कुनै प्रकारको त्रुटि हुन गएमा तुरुन्तै त्यसको परिणामस्वरूप नराम्रो क्षति पुग्न सक्छ । विशेष गरी शरीरमा सेतो टाटाहरू बस्ने र ती टाटाहरू कुनै औषधीले पनि निको नहुने र अर्को वर्ष चोखनित पुर्‍याएर व्रत गरेमा निको हुने गरेको व्यवहारिक जीवनमा देखिएको छ ।

यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । षष्ठीका दिन तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुट्न–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । जसलाई स्थानीय भाषामा ठकुवा /खजुरी पनि भनिन्छ ।

छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले श्रद्धापूर्वक गीत गाउने गर्छन् ।

छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाउन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठुलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक गाउने गर्छन् –

“हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
छठी मैया होइब सहाय, छठ पूजन जाय ।।”

यसको अर्थ – हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नु होला । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँच पटक साष्टाङ्ग दण्डवत् गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठो’ र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गर्दछन् ।

अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ । महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञात वासमा रहँदा उक्त गुप्त वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका घरमा बास बसेको उल्लेख छ । लोककथा बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले पनि ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । शरीरमा भिटामिन डी कमी भएमा पनि सूर्यको तापमा बस्ने गरेको हामीले देखेका छौँ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्वले सूर्यको आराधना गरेकाले फलस्वरूप रोगबाट मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैनन् उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि मानिसहरू मनाउने गर्छन् ।

यस पर्वमा चाहिने भाँडाकुँडा र चिजबिजको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । भव्यरुपमा मनाइने यो चाडको विशेष महत्त्व रहेको छ ।

विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो संस्कार सबैलाई प्यारो लाग्दछ । त्यस कारण आफ्नो संस्कारको रक्षा हामी आफैले गरे मात्र हाम्रा सन्तानलाई चिनाउन सकिन्छ । यो छठ पर्व पनि हाम्रा संस्कारहरूसँग जोडिएको पर्व हो । सबैलाई यो छठ पर्वको शुभकामना !

नोट : यस वर्षको छठ पर्व अमेरिकामा यहीँ नोभेम्बर २० तारिख शुक्रवार परेको छ । कृपया यसलाई पढेर राम्रो लागेमा कमेन्ट गर्न सेयर गरी अरू माझ पुर्‍याउन नभुल्नु होला धन्यवाद ।

प्रतिक्रिया