अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

“सरकार परिवर्तको हल्ला निराधार” : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ५:५९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ । यस्तो हल्ला निराधार रहेको उहाँले बताउनुभयो । बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिङ्कको रुपमा रहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाको कोशी करिडोर र सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री सङ्खुवासभा जानुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैको रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो । ‘बिहान बिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको सन्छु तर कसैको रहरमा सरकार परिवर्तन हुँदैन । नेकपा पार्टी साना–साना टुक्रा मिलेर बनेकाले फुट्दैन’, ओलीले भन्नुभयो ।

उहाँले दुई वर्ष अगाडि आफैले किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउने र भारतको जोगबनीदेखि किमाथाङ्कासम्मको तीन सय ९० मिटर उत्तर–दक्षिण कोशी करिडोर दुई लेनको सडक विस्तार गरी सञ्चालन गर्ने देखेको सपना बिस्तारै पूरा हुँदै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सडक विस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक विस्तार गर्न समस्या देखिएपछि नेपाली सेनालाई जिम्मा दिइएको र अब चाँडै ट्र्याक ओपन हुने विश्वास लिएको बताउनुभयो । बुधबार बिहान साढे नौ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सङ्खुवासभा पुग्नुभएका ओली साढे तीन बजे काठमाण्डौ फर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू