अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:२६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थाल्नुभएको छ । अमेरिकामा सामान्य सेवा प्रशासन (जीएसए)ले औपचारिकरूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ । जसले संक्रमणकाल सुरु गर्दछ ।

तर, ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया सुरू गर्नुभएको छैन । मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्नेबारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन दिनुभएको छैन ।त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ । यसबाट ट्रम्पले सार्वजनिकरूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुटा दाबीलाई अझैपनि सत्य सावित गर्न खोजेझैं देखिँदैछ ।

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन । विशेषगरी यस वर्ष चुनौती बढी छ । किनकि, बाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै हुनुहुन्छ । जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ ।‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नुपर्दछ’–बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा बताउनुभएको छ । अमेरिकाको गैरनाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई ‘चुनावपछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐनबमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन’ आग्रह गरेको छ ।

शनिबार अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरेपनि सरकार निर्माणको कदम चाल्नुभएको छ । बाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यानकेन्द्रित गर्नुहुनेछ । अमेरिकामा हालसम्म लगभग दुई लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ ।

बाइडेनले सोमबार एक कार्यदलको कार्यविवरण घोषणा गर्दै हुनुहुन्छ । जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ । यस कार्यदलले आगामी जनवरी २० मा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ ।बाइडेनले यसअघि नै शल्य चिकित्सक डा. विवेक मूर्थी र पूर्वखाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सहअध्यक्षका रूपमा घोषणा गरिसक्नुभएको छ ।

बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्नुहुनेछ । जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ । उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् । जस्तैः बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू ।तर, त्यो प्रक्रिया पूर्णरूपमा सुरु हुन सक्दैन, जबसम्म बाइडेनलाई जीएसएले राष्ट्रपति–निर्वाचितरूपमा मान्यता दिँदैन ।

जीएसएको नेतृत्वले स्वतन्त्र र पक्षपातरहित ढंगले कार्य गर्ने विश्वास गरिन्छ र कम्तीमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन् ।उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित बाइडेन लेकफ्रन्टको घरमाथिको हवाईक्षेत्र प्रतिबन्धित गरेका छन् भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उहाँको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ ।

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन् । बाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरुसँग सम्पर्क गरेका छन् ।ट्रम्पका निकटतम् सहयोगीहरूमध्ये एक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार मन्त्रिपरिषद्को बैठक बस्नुअघि पूर्वउपराष्ट्रपति तथा सिनेटर बाइडेनलाई बधाइ दिनुभएको छ ।

‘जो बाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ र म उहाँलाई इजरायल राज्यको एक महान् मित्रको रूपमा चिन्दछु’–नेतन्याहूले भन्नुभएको छ ।रिपब्लिकन पार्टीका एकमात्र जीवित पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले बाइडेनलाई ‘एक असल व्यक्ति’ रहेको जनाउँदै उहाँको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ ।

तर, दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमलगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनावसम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गर्नुभएको छ ।बाइडेनले आइतबार विलमिंग्टनमा आफ्नो घरनजिकको ब्रान्डवाइनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिनुभयो । यहाँ उहाँ प्रत्येक साता जाने गर्नुहुन्छ । उहाँले अरु समय प्रायः घरमै बिताउनुभयो ।

उहाँका केही कर्मचारीले भिडियोमार्फत् घन्टौ खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका थिए ।ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् । किनभने, यहाँ आगामी जनवरी ५ मा दोस्रो चरणको मतदान हुँदैछ । यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लिकनको बहुमत हुनेछ र बाइडेनको मन्त्रिमन्डल गठनमा ढिलाइ हुनुका साथै बाइडेनले अघि सार्नुभएका कैयौं योजनालाई सहजरुपमा अघि बढाउन कठिन हुनेछ ।

शनिबार आफ्नो विजय भाषणको क्रममा बाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताउनुभएको थियो । उहाँले ट्रम्प समर्थकहरूलाई ‘एकार्कालाई मौका दिन’ आग्रह पनि गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू