अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

बेलायतमा क्रियाशील नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्‍यो सम्मान

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते २०:०५ मा प्रकाशित

काठमाडौँ । बेलायतमा क्रियाशील नेपाली चलचित्रकर्मीहरूलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरूलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुराएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशक द्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरू दुवैलाई नेपाली खुकुरी, पुष्प गुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए ।

एक दशक लामो समय बेलायतमा रहेर मिडियाकर्मीमा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्युजिक भिडियो निर्देशन तथा छायाङ्कन गरेका छन् । उनीसँग आधा दर्जन नेपाली चलचित्रमा छायाङ्कनको अनुभव पनि छ । त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनमकुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् । बेलायतमा आफ्नै निर्देशन र अभिनयमा नेपाली नाटकहरू प्रस्तुत गर्दै आएका उनले चलचित्र निर्माण तथा निर्देशन पनि गर्दै आएका छन् ।

उक्त महोत्सवमा बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरूको प्रस्तुति गरिएको थियो । बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।

महोत्सवमा राजदूत सुवेदीले लेखेका ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतमा निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित म्युजिक भिडियोहरू तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्र लोकार्पण गरे । महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरूलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुत गरिएको थियो । साथै, नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा नायिका मिरुना मगर, अभिनेता ध्रुव दत्त लगायतका कलाकारहरू सम्मानित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू