अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयीपछि नेपाली समुदाय खुसी

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:१९ मा प्रकाशित

नेपालीहरुको ‘सपनाको देश’ मानिने अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनको विजयीसँगै नेपाली समूदाय खुशी बनेका छन् । चुनावी क्याम्पेनिङमा पनि नेपालीहरुले बाइडेन र कमला ह्यारिसलाई खुलेरै भोट मागेका थिए । ‘नेप्लिज अमेरिकन फर बाइडेन’ चुनावी समूह नै गठन गरेर ठूलो संख्यामा नेपालीहरु प्रचार अभियानमा जुटेका देखिन्थे । जति वाइडेनको समर्थनमा नेपालीहरु थिए त्यति ट्रम्पको समर्थनमा सक्रियता देखिएन ।

जिपी कोइराला फाउन्डेसन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले बाइडेनको समर्थनमा पटक पटक चुनावी क्याम्पेनिङ चलाउनुभएको थियो । लोकतन्त्र र उदार अर्थनीतिलाई अवलम्बन गर्न रुचाउने वाइडेनप्रति धेरै नेपालीको भावना जोडिएको पाईएको छ । यद्यपी, वाइडेनको पक्षमा नेपालीहरु उभिनुको पछाडी डोनाल्ड ट्रम्पको अध्यागमन नीति प्रमुख कारक बनेको छ ।

जाति र रंगभेदी दम्भमा रमाउने, आप्रवासीलाई ‘सिटहोल’ मुलुकबाट अमेरिकी जनताको भाग खोस्न आएका भनेर आरोप लगाउने देखि डिभी परेर आउनेलाई उस्तैखाले ब्यवहार ट्रम्पले गर्नुभएको थियो । जसका कारण बहुसंख्यक नेपालीले ट्रम्पको नीति रुचाएनन् । कानूनी अडचन सहनुपर्ने र देश निकालासम्म हुनुपर्ने अवस्था आउने भन्दै धेरै आप्रवासीहरु ट्रम्पसँग झस्किएका थिए ।

एनआरएनए अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डो¥याउँछ भन्नेमा विश्वास पलाएको बताउनुभएको छ । अमेरिकामा बस्दै आएका तारा बरालले बाइडेन कार्यकाल ट्रम्पको जस्तो अराजक, अबैज्ञानिक र गतिछाडा हुनेछैन भनी टिप्प्णी गर्नुभएको छ । मूलतः नेपाली र आम अमेरिकी समाजले अपेक्षा गरेको पनि त्यहि हो ।

बाइडेन आउँदैमा अमेरिकामा रहेका नेपालीलाई विशेष चिट्ठा हात लाग्ने भने पक्का हैन । तर कम्तिमा पनि आप्रवासी हुनुको पीडामा मल्हम लाग्नेछ । टिपीएस र ग्रीनकार्डको लडाइ सजिलो हुनेछ । अब सिटहोल र ट्र्यासक्यानजस्तो गाली सुन्नु पर्नेछैन । विगत चारवर्षमा धर्मराएको आत्मसम्मान केही बलियो हुनेछ ।’

त्यतिमात्र होइन बाइडेनले चुनावी अभियानका क्रममा अमेरिकी संसदले सन् १९८६ देखि पारित गर्न नसकेको अध्यागमन सुधारको बृहत बिल अगाडि ल्याउने बताईसक्नुभएको छ । सन् २०१३ मा यस्तै बिल पारित गर्ने प्रयास असफल भएको थियो । डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चार सयभन्दा धेरै कार्यकारी आदेशहरु जारी गर्नुभएको छ , वाइडेनले ति सबै उल्टाउने अपेक्षा गरिएको छ ।

अमेरिकामा रहेका ११ मिलियन कागजपत्रवीहिन अमेरिकी नागरिकताको बाटोमा लैजान अध्यागमन सुधारको योजना ल्याउने बाइडेनको योजना रहेको छ । बाइडेन अहिले अमेरिकामा कैयन आप्रवासीहरुका आशाका केन्द्र बन्नुभएको छ, किनकी अध्यागमन नीति केही लचिलो बनाएर धेरैलाई गुन लगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू