अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 15:56

आजका अर्जुन

युवराज मैनाली २०७७ कार्तिक २१ गते १०:०१ मा प्रकाशित

अर्जुनले गाण्डीव उठाए । ताँदो चढाए । माछाको आँखामा सूक्ष्मदृष्टि लगाए । कथा कलिले चियाउन लागेको बेलाको थिएन । माछा राजमहलको छतमा उनिएको थिएन । माछालाई पानीमै बाँधिएको थियो । तलाउको माछा । माछाको कम्मरमा रिङ । माछाको कम्मरमा रिङ हेर्दा मानौँ जिउँदै छ । रिङबाट फुत्त निस्केर भाग्ला जस्तै । तलाउ थियो, नुहाउने पोखरी । त्यहाँ कुनै वनस्पति थिएन । कुनै जीव थिएन । पानीको पानी थियो सङ्लो पानी । त्यस सङ्लो पानीमा भए नदेखिने कीटाणु होलान् । त्यो बेग्लै कुरा हो । पानी त चुप लागेर बस्ने कुरै होइन । कसैले चलाए पनि नचलाए पनि त्यो चलिरहन्छ ।

चल्दो पानीमा माछाको आँखामा तीर हान्नु । त्यो बेलामा छतको पङ्खामा उनेको घुम्दो माछामा बेग्लै कुरा हो । कोणको हिसाब लहरका चाल आदि–इत्यादिको हेक्का राम्ररी हुनुपथ्र्यो । समग्र चक्काको मात्रै हेक्का राख्नुपर्ने त्यो बेला र यो बेलाको आँकलन गर्दागर्दै अर्जुनको गाण्डीवले पनि ठूलो कम्पन छुटायो । द्रौपदी द्रव्यासनमा बसेर हर्दै थिइन् । उनको आसनमा पनि कम्पनको हावा चल्यो । उनी मुस्कुराइन् । अर्जुनलाई कर्के आँखाले हेरिन् अनि आँखा झिम्क्याइन् । अर्जुनलाई लाग्यो च्यालेन्ज गर्दैछिन् द्रौपदी । अर्जुनको विशाल छाती फरफरायो । ताँदो चुमेर निसाना लगाए । तीर पानीमा छ्याप्प गर्दै स्वात्त माछाको आँखा वारपार भयो । उनी अर्जुनेबाट अर्जुन भए ।

द्रव्यासनमा बसेकी द्रौपदीले उनलाई वरमाला लगाइदिइन् । आफ्नो आसनमा सँगै बसाइन् । अब द्रौपदी पाँच पाण्डवकी हुन पुगिन् । अर्जुन द्रव्यका साथै पद, यश, तागत, शिष्टता भाइहरूका साथ हस्तिनापुरको राज्य गर्न थाले । त्यहाँ श्रीकृष्ण थिएनन् । त्यसैले महाभारतको लडाइँ भएन । कष्ट खानु परेन, सारा कष्ट खपाइ त बिचरा प्रजामा थोपरिएको थियो ।