अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

ह्वाइट हाउस जाने बाइडेनको तयारी, ‘बिल्ड ब्याक बेटर’ नामको संक्रमणकालीन वेबसाइट संचालन

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन जीत सुनिश्चित देखिएपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने तयारीमा जुट्नु भएको छ । जीतको औपचारिक घोषणा नभएपनि चुनावी परिणामको अनुमानहरुमा पनि बाइडेनका लागि अझै ६ सीट कम देखिएको छ । यद्यपि, उक्त सीट मतगणना भइरहेको नेभादा राज्यबाट जुटाउने आंकलन गरिएको छ ।

ह्वाइट हाउस प्रवेशको तयारी स्वरुप बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट शुरु गरेको बीबीसीले जनाएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचन जित्ने उम्मेदवारले ह्वाइट हाउस प्रवेश गर्नुपूर्व एक ट्रान्जिसन टिम अर्थात् संक्रमणकालीन समूह बनाउने परम्परा रहेको छ ।

मतगणनाको प्रारम्भिक अवस्थामै आफूले आफैलाई विजयी घोषणा गर्नुभएका वर्तमान राष्ट्रपति ट्रम्प मतगणना सकिने समयतिर आउँदा पराजय ब्यहोर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भने उहाँले निर्वाचन परिणामविरुद्ध अदालतमा उजुरी दिनु भएको छ ।
बाइडेनद्वारा सार्वजनिक वेबसाइटमा भनिएको छ, ‘मुलुकले महामारीदेखि आर्थिक मन्दी, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेकाले ट्रान्जिसन टिमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्नेछ । जसको आधारमा बाइडन–ह्यारिस प्रशासनले पहिलो दिनबाट नै काम गर्न सकोस् ।’

यसैबीच, बाइडेनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा फेरि अमेरिका सामेल हुने घोषणा गर्नुभएको छ । यद्यपि, बुधबार नै अमेरिका आधिकारिक रुपमा पेरिस सम्झौताबाट बाहिरिएको पनि छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू