अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

भारतीय सेनाद्धारा नेपाललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो १ लाख मास्क

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:२२ मा प्रकाशित

भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सैनिक मुख्यालयमा भएको कार्यक्रममा उहाँले दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीका साथै भेन्टिलेटर हस्तान्तरण गर्नुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले पनि भारतीय सेनाका लागि नेपालमा नै बनेको एक लाख थान मेडिकल मास्क र बुद्धको प्रतिमा हस्तान्तरण गर्नुभयो ।

यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो । सेनाध्यक्ष नरवणेले बिहीबार नै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोप्नुभयो । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र स्थल सेनाध्यक्ष नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुुभएको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनापति नरवणेलाई आज साझ सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष नरवणे १८ औँ सेनापति हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू