अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

भारतीय सेनाध्यक्ष नरवणे नेपालमा

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:०९ मा प्रकाशित

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउनुभएको छ । भारतीय वायु सेनाको विमानमार्फत उहाँ आज अपरान्ह नेपाल आउनुभएको हो । नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उहाँ नेपाल आउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ । त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गर्नुभएको थियो ।

नरवणेले नेपाल बसाइका क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापालाई छुट्टाछुट्टै भेट गर्ने तय भएको छ । पशुपति क्षेत्र विकास कोषले भारतीय सेनाध्यक्ष नरवणेलाई पशुपतिनाथको दर्शन समेत गराईएको छ । नरवणेले नेपालका प्रधानसेनापति थापासँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला दुई मुलुकका सेना प्रमुखको भेट र छलफललाई महत्वका साथ हेरिएको छ । सो अवसरमा नरवणेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने गरी स्वास्थ्य सामग्री र औषधि नेपाली सेनालाई प्रदान गर्ने बताईएको छ । उहाँले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग छलफलसमेत गर्ने कार्यक्रम छ ।

नरवणेले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय छलफल समेत गर्नुहुनेछ । भेटमा प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच उत्पन्न पछिल्लो परिस्थिति र आफ्नो अडानबारे कुरा राख्ने तयारी रहेको स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू