अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

नेपाली काँग्रेसका नेता केसीको अन्त्यष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:३९ मा प्रकाशित

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अन्त्येष्टि गरिएको छ । विगत लामो समयदेखि सुगर र प्रेसरबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । पोखरा शान्तिघाटमा मङ्गलबार हिन्दू संस्कार अनुसार उहाँको अत्येष्टि गरिएको हो । उहाँको एक श्रीमती र तीन छोरा छन् । पोखरा ७ एयरपोर्टस्थित केसी निवासमा पार्टीकोतर्फबाट अन्तिम श्रद्वाञ्जली अर्पण गरिएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेका क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा ७ का इकाई सभापति नवीन बरालले पार्टीको चार तारे झण्डा ओढाउनु भएको थियो । स्वर्गीय केसीप्रति श्रद्वाञ्जली अर्पण गर्न काँग्रेससहित विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभेच्छुकहरुको ठूलो संख्यामा भिड लागेको थियो ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीलाई व्यवस्थित र सुदृढिकरण गर्दै पार्टीको विकास र विस्तार तथा कार्यकर्ताको मनोबल उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता केसीको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू