अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 11:42

प्रज्ञा प्रतिष्ठान प्रतिशोध लिने संस्था हो ?

राम खत्री, न्यु योर्क

राम खत्री, न्यु योर्क २०७७ कार्तिक १७ गते १०:४६ मा प्रकाशित

एउटा स्वतन्त्र देशको पहिचान, सभ्यता तथा विकास जान्नको लागि सबैभन्दा पहिले त्यहाँको भाषा, साहित्यलाई हेरिन्छ । जहाँको भाषा, साहित्य सुन्दर र उर्वर हुन्छ त्यसलाई सभ्य देशको रूपमा चिनिन्छ । त्यसैले देशले आफ्नो भाषा, साहित्य तथा कलाको जर्गेनाका लागि राष्ट्रिय हिसाबले प्रशस्त कार्यहरू गरिरहेको हुन्छ ।

ज्ञान, बुद्धि तथा विवेक मान्छे आफैँले आर्जन गर्ने कुरा हुन् । जन्मँदै वेदव्यास कोही हुँदैन । त्यसको लागि जो कसैले पनि मानसिक रगत, पसिना बगाउनै पर्छ । आफ्नो कोसिस, लगनशीलता तथा मेहनतले मान्छे अगाडि बढिरहेको हुन्छ । यो दौडमा कोही अगाडि पुग्छन् भने केही पछि पर्छन् । कोही गन्तव्यमा पुग्नै सक्दैनन् । जे जसो भए पनि चित्त बुझाउनै पर्छ । मान्छेको जात ईर्ष्या गर्ने भएकाले आफू पछाडि पर्न आँटेको खण्डमा अगाडि बढिरहेकोलाई छिर्के हान्ने चलन पनि नभएको होइन । तर सबै आआफ्नो नियतिले पुर्याउने गन्तव्यमा पुग्छन् । प्रतिभाशाली व्यक्ति कसैको छिर्केले रोकेर रोकिन्न ।

विडम्बना वा नियतिले भनौँ विगत केही वर्षदेखि नेपालभित्रै नेपाली भाषाका विरुद्धमा सुनियोजित ढङ्गबाट विनाशको मार्गमा केही व्यक्ति लागिरहेको प्रस्ट देखिएको छ । यसै क्रममा केही वर्षअगाडि देशभरिका नेपाली भाषा विज्ञहरूलाई सुइँकोसम्म नदिई नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोशलाई रहस्यमय ढङ्गमा परिवर्तन गरियो । त्यसको विरुद्धमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलज्यूले नेतृत्व गर्नुभएको संस्था मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले विश्वव्यापी विरोध आह्वान गर्यो र अन्त्यमा सबैको सहयोगले उक्त शब्दकोश रद्द गराउन मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल सफल भयो । तथाकथित नेपाली भाषा साहित्यका ठेकेदारहरूले यसलाई आफ्नो ठुलो असफलता ठाने र प्रा.डा लुइटेलको विरुद्ध फेरि षड्यन्त्रको योजना बनाउन थाले । उता लुइटेल आफ्नै काममा व्यस्त भए ।

भाषा भनेको परिवर्तन भइरहने वस्तु हो । समयअनुसार बिस्तारै यसमा परिवर्तन आइरहेकै हुन्छ । नेपाली भाषाको उद्गमस्थल सिंजामा बोलिने नेपाली र काठमाडौंमा बोलिने भाषा फरकै हुन्छ । एक सय वर्षअगाडि कोटको सट्टा अर्कै शब्द थियो होला । बिस वर्षअगाडि नेट भन्ने शब्द नेपालीमा थिएन । अहिले यो शब्द सबैले बुभ्mने भइसकेका छन् । कतिपय शब्द समयले निर्माण गर्दाेरहेछ । जस्तै अहिले कोरोना, कोभिड, आइसोलेसन, लकडाउनजस्ता शब्द नेपाली नै बनिसके । नयाँ शब्दहरूको आगमन, चयन समय समयमा भइरहेकै छ र हुनु पनि पर्छ । परिवर्तन चाहिँदैन भनेर कसैले पनि भनेको छैन तर त्यसको पनि सीमा हुन्छ । सीमा नाघ्न हुन्न भन्ने हाम्रो विचार हो ।

नेपाली भाषा साहित्य विरुद्धको त्यो दुई तीन बर्से घाउ खाटा नबस्दै नेपाली भाषामाथि अर्को साङ्घातिक हमला सर्वोच्च अदालतमार्फत गराइयो । नेपालमा गुड्ने सवारी साधनहरूमा नम्बर प्लेट अङ्ग्रेजीमा लगाउनु पर्ने फैसला गराइयो । मुद्दाको फैसला भएको लामो समयसम्म जनताले चालै पाएनन् । के यो जनताको सरोकारको विषय थिएन र ? नेपालको संविधानमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनेर किटानीसाथ लेख्दालेख्दै कसरी वर्तमान संविधान विपरीत फैसला हुन पुग्यो ? जनता आश्चर्यचकित भएका छन् । नेपालमा नेपाली भाषा नबुझ्नेहरूको जनसङ्ख्या धेरै भएर अङ्ग्रेजीमा नम्बर प्लेट बनाउन परेको त होइन ? यदि नेपालमा नेपाली भाषा नचल्ने भयो, नेपाली नोट नचल्ने भयो भने के नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश रहिरहला ?

यो षड्यन्त्रपूर्ण फैसलाका विरुद्ध पनि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलज्यूले नेतृत्व गर्नु भएको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले विश्वव्यापी विरोध आह्वान गर्‍यो । हामीले पनि त्यसको समर्थन जनायौँ नेपाल र नेपालीको निमित्त । सर्वोच्च अदालतको मान पनि रहने नेपालीको इज्जत पनि रहने किसिमले नयाँ निर्णय आउने आशामा नेपाली बसिरहेका छन् । तर नेपाली भाषाको विरुद्धका ठेकेदारहरू चुप लागेर बसेका थिएनन् । उनीहरूले विचार गरे कि उनीहरूको विरुद्ध जो लगातार निर्भीक भएर अगाडि बढिरहेको छ त्यसलाई छिर्के लगाएर लडाइ दिन पाए उनीहरूको जीत हुने थियो भन्ने उनीहरूको भित्री चाहना भएको हुनुपर्छ । नेपालमा नेपाली भाषा सरकारी कामकाजको भाषा भएकाले इम्बोस्ड नम्बर नेपालीमा हुनैपर्छ भन्दा प्रा.डा. लुइटेलका विरुद्ध उल्टै सर्वोच्च अदालतमा मुद्दा हालियो । कस्तो विडम्बना !

यतिमै ती षड्यन्त्रकारीहरू चुप लागेर बसेनन् । प्रा.डा. लुइटेलको पछि लागि नै रहे । उनीहरू लुइटेलको रिसर्च डकुमेन्टमा पुगे, उनले निकालेका कृतिहरूमा पुगे । त्यसपछि आफ्नो नामसमेत खुलाउन नसक्ने एउटा पीत पत्रकारको व्यक्तिगत ब्लगमा पुगेर उनको चरित्रहत्या गराउने खालका खबरहरू प्रकाशित गरे । यस्तो बेनामे रूपमा लेखिएका आरोपहरूलाई लिएर प्रज्ञा प्रतिष्ठानले रातारात छानबिन समिति बनाउनु, राति नै यताका हामी सबैका मेसेन्जरमा पठाउनु र विभिन्न व्यक्तिलाई फोन गरेर प्रा.डा. लुइटेलका विरुद्धमा अनेक कुरा भन्नुले यसमा प्राज्ञ सदस्यहरू नै संलग्न भएको स्पष्ट देखिएको छ । प्रा.डा. लुइटेलको प्रतिभासँग हामी सबै परिचित छौँ । यस्ता म्यासेज, फोनले केही फरक पार्दैन । जहिले पनि सत्यको जीत हुन्छ तर केही समय लाग्छ, हार भने हुँदै हुँदैन ।

कुनै पनि रिसर्च काममा कति मेहनत गर्नुपर्छ, कति अरूको किताब वा रिसर्च पेपर पढ्नुपर्छ । यो कुरा रिसर्च गर्ने र पिएचडी गर्नेलाई नै बढी जानकारी हुन्छ । रिसर्च भनेको उपन्यास लेखन होइन । उपन्यास त लेखकको कल्पनासँगै उड्छ । रिसर्चका लागि अरू कृतिहरूको आवश्यकता हुन्छ नै । सबै षड्यन्त्रकारीहरू प्रा.डा. लुइटेलकै समकालीन हुन्, प्रतिस्पर्धी हुन् जसलाई अनुसन्धानका बारेमा ज्ञान हुनुपर्छ । त्यसैले उनीहरूले आफ्नो नाम त्यो अनलाइन ब्लगमा लेख्न सकेनन् ।

बौद्धिक चोरीका सम्बन्धमा लीला लुइटेलजीले कान्तिपुरमा आफ्नै नाउँमा प्रकाशित चारपाँचवटा लेखहरू मैले पढेको थिएँ । उहाँले सबै सन्दर्भ सामग्रीसहित पेज नम्बरसमेत खुलाएको मलाई थाहा थियो । तर त्यसमा कसैले छानबिन समिति गठन गरेको वा लेखकले खण्डन गरेको पनि देख्न पाएको छैन ।

प्रा.डा. लुइटेलका सम्बन्धमा भने व्यक्तिगत अनलाइन ब्लगले बेनामी चरित्रहत्यासम्बन्धी आधारहीन खबर प्रकाशित गराउँदा नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण हुन पुग्यो । यसबाट के थाहा पाइन्छ भने लीला लुइटेलजीले कान्तिपुरमा प्रकाशित गरेको प्लेजरिजमसम्बन्धी लेख पनि प्रज्ञा प्रतिष्ठानलाई थाहा थियो । अझ अहिलेकै प्राज्ञहरू चोरी प्रकरणमा मुछिएको खबर पनि मैले नेपाल नामक पत्रिकाबाट थाहा पाएको हुँ । तर त्यस सम्बन्धमा प्रतिष्ठानले छानबिन समिति गठन गर्नु आवश्यक सम्झेन ।

अब यस्तो परिस्थितिमा मलाई के जान्न मन लाग्यो भने नेपाल प्रज्ञा प्रतिष्ठान र यहाँका प्राज्ञहरूको काम, कर्तव्य र अधिकार के हो ? नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली भाषा, साहित्य तथा कलाको उन्नति, यसको संवर्धन तथा जगेर्नाको निमित्त स्थापना भएको संस्था हो । कयौँ वर्ष र खर्च लगाएर बनाइएको शब्दकोश रद्द गर्नुपर्ने कार्य गरेर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको जगेर्ना गरेको हो कि विनाश ? मैले बुझिन । त्यस्तै प्रज्ञा प्रतिष्ठान आफैँले प्रा.डा. लुइटेलका पुस्तक छाप्ने, लेखकलाई नै सर्वाधिकार दिने, प्रकाशकीयमा आफैँले उत्कृष्ट पुस्तक भनेर लेख्ने र उक्त पुस्तकमाथि बेनामी आरोप लाग्यो भनेर छानबिन समिति आफैँले गठन गर्ने कस्तो विडम्बना । यस सम्बन्धमा प्रतिष्ठानले औपचारिक रूपमा प्रस्ट पार्नु उचित हुन्छ ।

वर्तमान कुलपतिका बारेमा मैले धेरै कुरा सुनेको छु र भेटेको पनि छु । उहाँ लामो समयदेखि त्यहीँ हुनुहुन्छ । मलाई उहाँ राम्रै मान्छे जस्तो लाग्थ्यो । प्रतिष्ठानले राम्रो काम गरे पनि नराम्रो काम गरे पनि त्यसको श्रेय, जस–अपजस सबै कुलपतिमा नै जान्छ । इतिहासमा आफ्नो नाम आफैँले बनाउने हो ।

अर्को कुरा २०१४ सालदेखि आजसम्म कति पटक प्रज्ञा प्रतिष्ठानले यस्ता विषयमा छानबिन समिति गठन गर्यो र के फैसला भयो ? फैसला छन् भने नजिर के छ ? यसभन्दा अगाडिका तीन जना पूर्व सदस्य सचिवज्यूहरूले यस्तो छानबिन समिति प्रज्ञा प्रतिष्ठानले कहिल्यै निर्माण नगरेको, प्रज्ञा प्रतिष्ठानको काम छानबिन गर्ने होइन र प्रज्ञा प्रतिष्ठानलाई छानबिन समिति बनाउने अधिकार पनि छैन भनेर भनिसक्नु भएको छ । यदि प्रतिष्ठानको काम, कर्तव्य तथा अधिकार क्षेत्रमा नभएको काम गर्न आँटेको हो भने यसलाई शीघ्र बन्द गर्दा प्रज्ञा प्रतिष्ठानको इज्जत पनि रहनेछ र सबै प्राज्ञहरूको इज्जत पनि रहनेछ । अधिकार भएरै गरेको भए पहिलेदेखि अहिलेसम्मका सबैको गर्नु पर्दैन ? लहरो तान्दा कहिलेकाहीँ पहरो नै झर्न जान्छ । सबैले ख्याल गर्नुपर्छ । रिसर्चका हरेक विद्यार्थीलाई बौद्धिक चोरी कसरी गर्न मिल्छ कसरी मिल्दैन भनेर रिसर्चमा दर्ता भएको दिनबाटै सिकाइएको हुन्छ । मलाई जहाँसम्म लाग्छ प्रा.डा. लुइटेल यसबारे सदैव सचेत हुनुहुन्छ ।

प्रज्ञा प्रतिष्ठान भनेको रिसइबी साँध्ने ठाउँ होइन । यसमा दलगत स्वार्थ पनि रहनु हुन्न । यसले केवल नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उत्थान, उन्नयनमा मात्र सदा लागिरहनु पर्छ भन्ने मेरो मान्यता हो । जसले आफ्नो भाषाको लागि मरिमेट्छ त्यसलाई सहयोग पुर्याउनु पर्छ न कि हर्यासमेन्ट । एउटा उच्च सरकारी साहित्यिक संस्था योजनाबद्ध रूपमा एक जना प्रतिष्ठित साहित्यकार प्रा.डा. लुइटेलको मानमर्दन गर्न पछि लाग्न मिल्छ ? यसले समाजमा ठुलो विकृति निम्त्याउन सक्छ जसबाट कसैको भलाइ हुन्न । यसर्थ यस्ता काम तत्काल बन्द गर्दा सबैको भलाइ हुन्छ ।

प्रतिक्रिया