अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

न्युजिल्यान्डमा पहिलोपटक समलिंगी उपप्रधानमन्त्री र अनुहारमा ट्याटु खोपेकी आदिवासी विदेशमन्त्री नियुक्त

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:५८ मा प्रकाशित

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले पहिलो पटक समलिंगी व्यक्तिलाई उपप्रधानमन्त्री बनाउनुभएको छ । त्यस्तै अनुहारमा परम्परागत ट्याटु खोपेकी माओरी जातकी आदिवासी महिलालाई उहाँले विदेशमन्त्री नियुक्त गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री आर्डेनले समलिंगी र आदिवासीको चिनारी स्वरूप अनुहारमा ट्याटु भएकी महिलालाई मन्त्रिपरिषदमा सामेल गरेको जानकारी दिनुभयो । त्यसपछि उहाँले आफ्नो मन्त्रिपरिषदलाई ’अविश्वसनीय रूपले विविध’ भएको बताउनुभएको थियो । उपप्रधानमन्त्रीमा ग्रान्ट रोबर्टसन र विदेशमन्त्री नानिया माहुताको नियुक्तिले आफूलाई निकै गर्व लागेको पनि आर्डेनले भन्नुभएको छ ।

गत अक्टोबर १७ मा प्रधानमन्त्री आर्डेनले दोस्रो कार्यकालका लागि भारी मतले जित हासिल गर्नुभएको थियो । त्यसपछि उहाँले मन्त्रिपरिषद पुनर्गठन गर्दै समलिंगी र आदिवासीलाई पनि आफ्नो मन्त्रिपरिषदमा सामेल गराउनुभएको हो ।

उपप्रधानमन्त्री भएका ४९ वर्षीय रोबर्टसनले लामो समयसम्म प्रधानमन्त्री आर्डेनका ’राइट ह्यान्ड म्यान’ भएर काम गर्नुभएको थियो । आर्डेनको पहिलो कार्यकालमा उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो । माहुता भने सन् १९९६ मै सांसद बन्नुभएको थियो । उहाँ न्युजिल्यान्डकी पहिलो महिला विदेशमन्त्री बन्नुभएको छ । उहाँले आफ्नी छोरीको आग्रहमा सन् २०१६ मा मात्रै अनुहारमा परम्परागत ट्याटु बनाउनुभएको थियो । उहाकोे समुदायमा पुरूषहरूले भने पूरै अनुहार ढाक्ने गरी ट्याटु बनाउने चलन छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू