अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

अब विदेश जाने श्रमिकले ई–सेवा र स्प्यारोमार्फत कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्ने

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:४८ मा प्रकाशित

अब वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने भएका छन् ।वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिका लागि अब देश विदेश जहाँ भए पनि अनलाइन सेवाप्रदायक संस्था ई(सेवा, फोन पे र स्प्यारो पेमार्फत तिर्न सक्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

श्रमिकले ई(सेवा, स्प्यारो एपमार्फत कल्याणकारी कोषमा १५ सय रुपैयाँ सिधै जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा गर्दा थप शुल्क लाग्ने छैन । यो व्यवस्था भएसँगै अब श्रमिकले कल्याणकारी कोषमा रकम बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको छ भने विदेशमै बसेर पनि पुनः श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा रकम जम्मा गर्ने सक्ने बाटो खुलेको छ ।

सरकारले श्रमिकले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गर्ने भन्दै आएको छ । अब कल्याणकारी कोषको रकम अनलाइन प्रणालीबाट तिर्ने बाटो खुलेसँगै विदेशबाट पुनः श्रम स्वीकृति लिनका लागि एउटा पाटो सहज भएको छ ।अब श्रम मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित दूतावासहरुले यो व्यवस्था कार्यान्वयन गरेमा श्रमिकले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन् । यसअघि अनलाइनमार्फत कल्याणकारी कोषमा रकम बुझाउने व्यवस्था नभएको कारण पनि श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश फर्कनु पर्ने बाध्यता थियो ।

साथै बोर्डले मृतकका हकवालाले पाउने रकम पनि बैंक खातामा जम्मा गरिदिन थालेको छ भने निवेदन पनि अनलाइनमार्फत नै लिन थालेको छ । बोर्डले सुरु गरेको यो प्रक्रियाले राहत र क्षतिपूर्ति लिनकै लागि बोर्ड सचिवालयसम्म आउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया