अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

“पार्टी विभाजन रोक्न प्रचण्डले फेरी एकपटक ओलीसंग संवाद गर्नुपर्ने ”– नेकपा प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । सोमबार बिहान आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताउनुभएको हो ।

आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ‘ब्रिफिङ’ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको उहाँले बताउनुभयो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताउनुभयो । आइतबार साँझको ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिकरुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राख्नुभएको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न सञ्चारमाध्यमहरुमा आएजस्तो प्रधानमन्त्री ओलीले अबसँगै अगाडि बढ्न नसक्ने भनी दिनुभएको अभिव्यक्ति साँचो रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलार्ई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलग–अलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता–कार्यकर्ताले पहल गर्नुपर्ने बताउनुभयो । पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उहाँले बताउनुभयो ।

पार्टीभित्र अहिले औपचारिकरुपमा वैचारिक, सैद्धान्तिक राजनीतिक बहस सुरु भइनसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा जोड श्रेष्ठले दिनुभएको छ । सबैले आ–आफ्नो पक्षबाट आत्मालोचना गर्दै पार्टीको निर्णय मान्ने र कार्यान्वयनमा गए पार्टी एकता बलियो हुनेपनि उहाँको भनाई छ ।

Narayan Kaji Shrestha

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू