अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

केन्द्रीय कार्यसमितिको बैठकलाई सहज बनाउन कांग्रेसमा छलफल तीव्र

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:२४ मा प्रकाशित

कात्तिक २१ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई सहज बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसअघि नै पार्टीका प्रभावशाली नेताहरुसँग छलफल थाल्नुभएको छ । देउवाले पदाधिकारी, पूर्वपदाधिकारी एवं प्रभावशाली नेताहरुको बैठक राखेर सोमबारदेखि अब कसरी अघि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउने प्रयास गर्नुभएको हो । सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गत असोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर २७ जना केन्द्रीय सदस्यले बुझाएको विरोधपत्रबारे छलफल भइरहेको नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पौडेलले १६ बुँदामै उल्लेख भएका विषयलाई थप प्रष्ट्याउँदै सभापतिले एकलौटी ढंगले अघि बढेको, पार्टी विधान विपरीत काम गरेको, आउँदो महाधिवेशनलाई प्रभावित पार्ने गरी मनलागी ढंगले केन्द्रबाटै क्रियाशिल सदस्यता वितरण गरेको, एक लौटी रुपमा विभाग गठन गरेको, निर्धारित कार्यतािलका अनुसार तल्ला तहको अधिवेशन नगराएको जस्ता विषय उठाउनुभएको थियो ।

बैठकमा लामो समय बोलेका पौडेलले सभापतिको कार्यशैली सच्चिनुपर्ने र पार्टीको १४औँ महाधिवेशन जतिसक्यो छिटो हुनुपर्ने कुरामा जोड दिएको सहभागी नेताहरुले जानकारी दिएका छन् । जवाफमा सभापति देउवाले विभाग गठन भइसकेकाले त्यस बाहेकका विषयमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको बुझिएको छ ।

विवादबारे थप छलफल गर्न मंगलबार दिउँसो १ बजे पनि बैठक राखिएको छ। केन्द्रीय कार्यसमितिको बैठक अघि बसेको पदाधिकारी पूर्व पदाधिकारीको बैठकले पार्टीको १४औं महाधिवेशन फागुनमा नहुने भएकाले अर्को मितिबारे सहमति जुटाउनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू