अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

कोलोराडोले ३ सय ७५ डलर राहत दिने

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ९:४७ मा प्रकाशित

डेनभर । कोलोराडो राज्यले कोरोना भाइरस पीडित आफ्ना नागरिकलाई ३ सय ७५ डलर राहत दिने भएको छ । सङ्घीय राहत प्याकेजसम्बन्धी वार्ता लम्बिरहँदा कोलोराडो गभर्नर जारेड पोलिसले आफ्ना नागरिकलाई राहत दिने यस्तो घोषणा गरेका हुन् ।

राहत एक पटकका लागि दिइने छ । राहत कोरोना भाइरसका कारण आर्थिक समस्यामा परेका ४ लाख ३५ हजार कोलोराडो निवासीले पाउने छन् । गभर्नर पोलिसले राहत डिसेम्बरको सुरुमा वितरण गरिने बताए । ‘कोभिड–१९ का कारण रोजगारी गुमाएका र जनजीविकामा समस्या परेकालाई राहत वितरण गरिने छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।

गभर्नर पोलिसले राहत प्रदान गर्नेसम्बन्धी एक्ज्यकेटिभ अर्डरमा बुधवार नै हस्ताक्षर गरेका छन् । त्यसअनुसार कोलोराडो डिपार्टमेन्ट अफ लेबरले राहत वितरण गर्नुपर्छ । डिपार्टमेन्टले वार्षिक ५२ हजार डलरभन्दा कम आए भएका करिब ४ लाख ३५ हजार कोलोराडो निवासी राहत पाउन योग्य रहेको अनुमान गरेको छ । यो सङ्ख्या गत मार्च १५ यता बेरोजगारी राहत आवेदन दिने कूल सङ्ख्याको ६५ प्रतिशत हो ।

पछिल्लो पटक घोषणा गरिएको राहत पाउनका लागि मार्च १५ यता आवेदन दिएर अक्टोबर २४ सम्म कम्तीमा १ डलर राहत पाएको हुनुपर्नेछ । त्यस्तै, उक्त अवधिमा साताको २५ डलरदेखि ५ सय डलरसम्मको सुविधा लिएका पनि यो राहत पाउन योग्य हुनेछ ।

मार्च १५ यता कोलोराडोमा ५ लाख ८१ हजार ३ सय ३४ ले बेरोजगारी सुविधा पाउँदै आएका छन् । सङ्घीय सरकारले दिन प्यान्डेमिक अनइम्प्लोइमेन्ट असिस्टेन्टसहित कोलोराडोमा कूल ७ लाख ५१ हजार ६ सय २ जनाले सरकार सुविधा पाउनुपर्ने दाबी गरेका थिए ।

प्रतिक्रिया