अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:३२ मा प्रकाशित

चीनको राजधानी बेइजिङमा मंगलबारदेखि सुरु १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र ‘थिम कन्ट्री’का रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्बिर समावेश गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बीआरआई विश्व प्राकृतिक सम्पदा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिइ विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक तस्बिर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछानेलगायतका तस्बिर प्रदर्शनीमा समावेश छन् । नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो ।

आगामी दिनमा चीनलगायत विश्वका विभिन्न देशमा आयोजना गरिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्बिर समावेश गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो । बेइजिङमा रहेको नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू