अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

एक जनामा कोरोना देखिएपछि चीनमा ४७ लाखको परीक्षण

बिआरटीनेपाल २०७७ कार्तिक १० गते २०:४७ मा प्रकाशित

चीनको काशगार शहरमा ४७ लाख मानिसको कोरोना परीक्षण गरिने भएको छ । शहरको बाहिरी भेगस्थित शुफु काउन्टीकी एक महिलामा कोरोना संक्रमण देखिएपछि पूरा शहरका ४७ लाख मानिसको कोरोना परीक्षण गरिने भएको हो ।

एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमण देखिएको हो। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नियमित परीक्षणका क्रममा ती महिला सङ्क्रमित रहेको फेला पारिएको हो ।

चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना भाइरस सङ्क्रमितलाई फेला पारिएको बताइएको छ। एक जना संक्रमित भेटिएपछि शहरमा व्यापक स्तरमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप एक सय ३७ जना संक्रमित फेला परेका छन् ।

लक्षण नदेखिएका सङ्क्रमितलाई चीनमा आधिकारिक रूपमा सङ्क्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५ हजार आठ सय १० जनामा जोड्ने गरिएको छैन। कोरोना भाइरसबाट यहाँ हालसम्म चार हजार ६ सय ३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। आइतबार अपराह्णसम्म काशगार शहरका २८ लाख मानिसको परीक्षण गरिएको छ र बाँकी रहेका मानिसको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरूले बताएका छन्।

यसअघि अक्टोबर महिनाको शुरूतिर चिङ्गदाओ शहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो। एक करोड १० लाख जनसङ्ख्या रहेको वुहानमा गत मे महिनामा पहिलो पटक कोरोना भाइरस देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू