अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

विप्लव नेतृत्वको नेकपाद्धारा सरकारविरुद्ध संघर्ष कार्यक्रम, निशुल्क कोरोना परीक्षण र उपचारको माग

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ७:०२ मा प्रकाशित

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्ष कार्यक्रम गर्ने घोषणा गरेको छ । पार्टीका महासतिव नेत्रविक्रम चन्द (विप्लव)ले एक विज्ञप्ति जारी गर्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको छ । विज्ञप्तिमा १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस गर्ने उल्लेख गरिएको छ । विप्लवले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको आरोप समेत लगाउनुभएको छ । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र संकटपूर्ण बन्दै गइरहेको उल्लेख गरिएको छ ।

कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको उहाँको दाबी छ । सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न समेत विप्लवले माग राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू