अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

जनकपुरधामको राजदेवी मन्दिरमा दसैँका १० दिन महिलालाई निषेध !

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:५० मा प्रकाशित

दसैँ सुरु भएसँगै देशभर शक्तिस्वरुपा देवीको पूजा आराधना भइरहेको छ। तर जनकपुरधामस्थित राजदेवी मन्दिरमा महिलालाई निषेध गरिएको छ। जनकपुरधामको राजदेवी मन्दिरमा दसैँको १० दिन पुरुष श्रद्धालुहरुले देवीको दर्शन गर्न पाए पनि महिलाहरुलाई भने पूजा गर्नबाट बन्देज लगाइन्छ। जनकपुरधामस्थित राजा जनककी कुलदेवीसमेत रहेकी माता राजदेवीको दर्शनका निम्ति दसैँको दश दिन पुरुष श्रद्धालुहरु मात्र प्रवेश गरी दर्शन गर्न पाउँछन् महिलाहरुलाई भने दश दिनसम्म झ्यालबाटै पूजा आराधना गर्ने व्यवस्था मिलाइन्छ।

अन्य दिनहरुमा पूजा गर्न पुग्ने महिला वा पुरुष श्रद्धालु जो कोहीलाई राजदेवीको मन्दिर भित्र प्रवेश गर्न दिइए पनि दसैँको घटस्थापनादेखि विजया दशमीसम्म महिला श्रद्धालुलाई झ्यालबाटै पूजा गर्न लगाइन्छ। आफूहरुले परम्परादेखि चल्दै आएको यो विधिलाई तोड्न नसक्ने राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरी बताउनुहुन्छ । महिलाहरुलाई मन्दिरभित्र प्रवेश निषेध गरिनुले विभेदको ठुलो नमुना प्रस्तुत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाइ छ।
नेपालको कानुनमै महिला र पुरुषबीच कुनै प्रकारको भेदभाव गरिने छैन भनेर उल्लेख गरिए पनि जातीयता र लिंंगको आधारमा गरिएको विभेदले आफूलाई क्षुब्ध बनाएको अधिवक्ता रेखा झा बताउनुहुन्छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष दसैँभर महिलालाई निषेध गरिन्छ। यसको विरुद्ध अधिवक्ता झा लगायतका महिला अधिकारकर्मीहरुले पटक–पटक आवाज उठाउँदै आइरहेका छन्। दसैँको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने खालका खुल्ला बहसकै आवश्यकता रहेको अधिवक्ता झा बताउनुहुन्छ ।

राजदेवी मन्दिरका महन्थ गिरीले यदि यहाँका जनताले चाहे भने यो परम्परालाई तोड्न आफूहरुलाई कुनै आपत्ति नरहेको बताउनुभयो । समाजमा रहेका यस्ता लैंगिक समानताविरुद्धको कुप्रथालाई हटाउनु पर्ने महिला अधिकारकर्मीहरु बताउछन् । जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष अत्याधिक भीड लाग्ने गर्छ। यहाँ अष्टमीको राति हजारौँको संख्यामा बली प्रदान हुने गरेको छ तर यस पटक भने स्थानीय प्रशासनले बली प्रदानमा रोक लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू