अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

मूल्यवृद्धिले उपभोक्ता मारमा, दुई प्रतिशतले मूल्यबृद्धि घटेको सरकारी तथ्यांक

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:४२ मा प्रकाशित

बजार मूल्यवृद्धिले उपभोक्ताको भान्सा मंहगिएको बेला सरकारी तथ्यांक भने विपरित देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो दुई महिनामा मुल्यवृद्धि करिब दुई प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

२०७७ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।

२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दुई महिनामा आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको खर्च ५३ अर्ब ५५ करोड र राजस्व परिचालन १ खर्ब ५ अर्ब ३७ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जाप्रवाह विस्तार हुन सकेको छैन । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजीक्षेत्र माथिको दाबीको वृद्धिदर १०.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू